बार एशोसियनशनले देशभरका अदालतबाट भएका शंकास्पद फैसलाहरुको अध्ययन गर्ने

काठमाडौं, १८ साउन।

अदालतका केही फैसला विवादित बनेपछि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियनशनले देशभरका अदालतबाट भएका शंकास्पद फैसलाहरुको अध्ययन गर्ने निर्णय गरेको छ ।

आज बसेको बारको बैठकले नेपालभरका अदालतहरुबाट विकृति, विसगंतीजन्य आदेश तथा फैसला कुनै भएको भन्ने पाइएमा सो विषयमा नेपाल बार एशोसियशनले अध्ययन गरी सम्बन्धित निकायमा आवश्यक लेखि पठाउने निर्णय गरेको हो।

बारका महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “न्यायपालिका स्वतन्त्रता, सक्षमता, निष्पक्षता तथा न्यायिक सद्विवेकको आधारमा कानून बमोजिम न्याय सम्पादन गर्नुपर्ने कुरामा कुनै विवाद हुन सक्दैन । कहिलेकाहि कुनै अदालतबाट भएका आदेश, फैसलालाई लिएर विभिन्न संचार माध्यमहरुबाट विभिन्न समाचारहरु पनि प्रकाशिन हुने गरेको पाईएबाट उल्लेख भए अनुसार काम कारबाही नभई राखेको भन्ने नेवाएलाई पनि महसुस भएको छ ।”

अदालतको सहयोगी, अदालतको स्वतन्त्रता, सक्षमता, निष्पक्षताको पक्षमा विकृति, विसंगति विरुद्ध सँधै आवाज उठाई रहने संस्था बार मुकदर्शक भएर रहन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

बारको विज्ञप्तिमा भनिएको छ,” नेपाल राज्यभरका अदालतहरुबाट विकृति, विसंगतिजन्य आदेश तथा फैसला कुनै भएको भन्ने पाईएमा सो विषयमा अध्ययन गरि सम्बन्धित निकायमा आवश्यक कार्यार्थ लेखी पठाउने निर्णय भएकोले सम्पूर्ण बार एकाईहरुलाई त्यस किसिमका कुनै आदेश तथा फैसला भएको भए नेवासा पठाई दिनु हुन अनुरोध गरिएको छ ।”

अदालतबाट भएका एकाध आदेश, फैसलालाई लिएर सञ्चार माध्यम तथा जनस्तरबाट समेत गम्भीर रुपमा भएका विरोध तथा समाचार सम्प्रेषणबाट न्यायपालिकाको जनआस्थामा गम्भीर दख्खल पुग्न जाने हुँदा यस्ता नकारात्मक समाचार वा विरोधको विषय बन्ने आदेश, फैसलाहरु हुन नहुनेमा बारले जोड दिएको छ । बारले भनेकोे छ,”कानून बमोजिम न्यायपूर्ण फैसला हुनुपर्दछ भन्ने कुरामा नेबाए सँधै दृढ रहि समय–समयमा सर्वोच्च अदालत र न्याय परिषद् समक्ष ध्यानाकर्षण गराउँदै आएको र त्रुटीकोे गम्भीरता हेरी नेवाए स्वयं पनि आन्दोलनमा सरिक भएको बिगत पनि स्मरण गराउन चाहन्छौं ।”

विगत केहि समय अगाडिदेखि सर्वोच्च अदालत लगायत मातहत अदालत समेतका आदेश फैसलाहरुलाई लिएर आम सञ्चार माध्यम तथा जनस्तरबाट भएका टिका-टिप्पणी र गुनासाहरुका विषयमा नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाईएको छ ।