भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कारोना संक्रमणको पुष्टि

काठमाडौं, १८ साउन।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कारोना संक्रमणको पुष्टि भएको छ ।

शाहले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । गृहमन्त्री शाहले डाक्टरको सल्लाह अनुसार आफू अस्पतालमा भर्ना भएको जानकारी गराएका छन् ।

शाहले भनेका छन्,”कोरोनाको शुरुवाती लक्षण देखिएपछि मैले परीक्षण गराए रिपोर्ट पोजेटिभ आएको छ । मेरो अवस्था ठीक छ तर डाक्टरको सल्लाह अनुसार म अस्पतालमा भर्ना हुँदैछु । ”

गृहमन्त्री शाहले आफ्नो सम्पर्कमा अएका व्यक्तिलाई पनि आइसोलेट भएर परीक्षण गराउन अनुरोध गरेका छन् । भातरमा आजमात्रै कोरनाका कारण उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको थियो ।

भारतमा पछिल्लो २४ घण्टामा ५४७३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । यो संगै भारतमा गएका ४ दिनमा मात्रै दुइ लाख भन्दा बढी मानिस संक्रमित बनेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको संख्या १७ लाख ५० हजार भन्दा माथी पुगेको छ भने अहिलेसम्म ३७३६४ जनाको ज्यान गइसकेको छ ।