१३ बैशाख २०८१, बिहिबार

नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन कार्यदल गठन, संयोजकमा महासचिव पौडेल

प्रकाशित मिति :  14 August, 2020 3:22 pm


काठमाडौं, ३० साउन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच विवाद समाधानका लागि सुझाव दिन कार्यदल गठन भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा ६ सदस्य कार्यदल गठन गर्ने सहमति भएको हो ।

महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा जनार्दन शर्मा ,भीम रावल, सुरेन्द्र पाण्डे पम्फा भुसाल र शंकर पोख्रेल रहेका छन् । पार्टीभित्र लामो समयदेखि जारी विवाद समाधानका लागि दुबै अध्यक्ष कार्यदलबाट सुझाव लिने निष्कर्षमा पुगेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री दुबै पद केपी शर्मा ओलीले छोड्नुपर्ने भनेपछि पार्टी चर्को विवादमा फसेको थियो ।

नेताहरुले पार्टी विभाजन उन्मुख भएको बताएका थिए । विवादकै कारण असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकपनि अवरुद्ध छ । झण्डै ९ दिनपछि हिजो दुबै अध्यक्षबीच छलफल भएको थियो । छलफल सकारात्मक भएको दुबै नेताको दाबी थियो ।

आज भएको छलफलपछि कार्यदल गठन गरे सुझाव लिई समस्या समाधानका लागि दुबै अध्यक्ष सहमत भएका हुन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले कार्यदल गठनलाई ‘पार्टी भित्रका समस्या समाधानमा एक कदम सकारात्मक’ भनेका छन् । कार्यदलले पार्टीभित्रको विवाद समाधानका लागि सुझाव पेश गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !