२० बैशाख २०८१, बिहिबार

किसानलाई समयमै प्रयाप्त मल दिन नसकेपछि कृषि मन्त्रालयले भन्यो,’मन्त्रालय परिवार दुःखी छ’

प्रकाशित मिति :  17 August, 2020 7:26 pm


काठमाडौं, १ भदौ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको भन्दै दुःख व्यक्त गरेको छ ।

सचिव राजेन्द्र भारीले आज विज्ञप्ति जारी गर्दै यूरिया मलको अभावले गर्दा किसानहरुले भोग्नु परेको असुविधाप्रति मन्त्रालय परिवार दुःखी भएको उल्लेख छ ।

यसवर्ष धान रोपाइको बखत आवश्यक पर्ने डिएपी मल आवश्यकता अनुरुप आपूर्ति भएपनि मन्त्रालयको अनेक प्रयासका बाबजुद धानबालीमा टप ड्रेसिङ्गका लागि आवश्यक पर्ने यूरिया मल पर्याप्त उपलब्ध गराउन सकिएको नसकिएको मन्त्रालयले जनाएको छ ।

सचिव भारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यसवर्ष धान रोपाइको बखत आवश्यक पर्ने डिएपी मल आवश्यकता अनुरुप आपूर्ति भएपनि मन्त्रालयको अनेक प्रयासका बाबजुद धानबालीमा टप ड्रेसिङ्गका लागि आवश्यक पर्ने युरिया मल पर्याप्त उपलब्ध गराउन सकिएको छैन । आजको विश्वव्यापी असहज परिस्थितिबारे हामी सबै जानकार नै छौं । जे सुकै कारणले होस् यूरिया मलको अभावले गर्दा किसानहरुले भोग्नु परेको असुविधाप्रति मन्त्रालय परिवार दुःखी छ ।”

मन्त्रालयले किसानका लागि आवश्यक पर्ने रासायनिक मल अन्तर्राष्ट्रिय बजारबाट खरीद गरी सहुलियतपूर्ण मूल्यमा वितरण गर्दै आएको        छ । तर लगातार बढ्दै गएको मागको तुलनामा आपूर्ति कम हुँदा हरेक वर्ष केही हदसम्म मलको अभाव व्यहोर्दै आएको मन्त्रालयको भनाई   छ ।

मलको माग बढेको भन्दै यस वर्ष मन्त्रालयले थप १ लाख २० हजार मेट्रिक टन मल (७० हजार मे,टन युरिया र ५० हजार मे.टन डिएपी) खरीद गर्न अतिरिक्त बजेटको समेत व्यवस्था गरेको थियो ।

तर थप परिमाणको मल आयातका लागि २०७६ पौष र माधमा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनी मार्फत् आव्हान गरिएका टेण्डर कोरोना महामारीका कारण स्वेदश तथा विदेशमा भएका बन्दाबन्दी सिर्जित परिस्थितिले गर्दा समयमा आपूर्ति हुन नसकेको मन्त्रालयको भनाई छ ।

आगामी दिनमा धान बालीमा आवश्यक पर्ने युरिया मलको अभाव नहोस् भन्ने कुरामा मन्त्रालय प्रयासरत रहेको मन्त्री सचिव भारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसन मार्फत् आयात हुने ३२ दशमलव १९० मेट्रिक टन युरिया मल कलकत्ता बन्दरगाहबाट नेपाल तर्फ ढुवानी शुरु भएको छ र अब एक हसीना नेपाल भित्रिन थाल्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले भनेको छ,“त्यसपछि लगतै कृषि सामाग्री कम्पनी मार्फत् आयात हुने अर्को लटको युरिया मल आउने क्रममा छ ।”

अब क्रमशः मलको आयात, आपूर्ति र वितरण व्यवस्था सहज हुने अपेक्षा राखिएको मन्त्रालयको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !