१५ चैत्र २०८०, बिहिबार

रोल्पामा एकीकृत नमुना वस्तीको बिजोग, योजना पुरा नहुँदै पहिरोले तान्न थाल्यो

प्रकाशित मिति :  22 August, 2020 5:34 pm


जुनिस कुमार विष्ट-
रोल्पा, ६ भदौ ।

रोल्पाको सुनछहरी गाउँपालिकामा तयार गरिएको एकीकृत नमुना वस्ती पुरा नहुँदै पहिरोको जोखिममा परेको छ । वस्तीका चार घर मानिस बस्न नमिल्ने गरि जोखिममा परेका छन् ।

सुनछहरी गाउँपालिका वडा नम्वर- १ फुलिवनमा रहेका ४ घर उच्च जोखिममा परेको हो । नमुना भनिएकै मानववस्ती जोखिममा परेपछि सुनछहरी गाउँपालिका उपाध्यक्ष पबित्रा घर्ती मगर नेतृत्वको टोलीले आज अनुगमन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर पुन,प्रशासन शाखा प्रमुख दया बहादुर बुढा मगर,सुनछहरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष महावीर राना मगर,ईलाका प्रहरी कार्यालय पोबाङका केशर घर्ती मगर,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति खिम बहादुर विष्टसहितको टोलीले जोखिमवस्तीको अनुगमन गरेको हो ।

एकीकृत वस्ती निर्माण गरेको उनीहरुलाई सुरक्षित स्थानमा गएर बस्न अनुरोध गरिएको उपाध्यक्ष पबित्रा घर्ती मगरले जानकारी दिइन् । यस वर्ष मात्र ५ नम्बर प्रदेश सरकारको अनुदानमा ४० घरधुरीलाई स्थानतरण गरि एकीकृत नमुना बस्ती बनाईएको थियो तर नमुना वस्तीकै ४० घरधुरी मध्य ४ घर पहिरोका कारण उच्च जोखिममा परेको छ ।

रण बहादुर घर्ती मगर,कमरा घर्ती मगर,तेकमला घर्ती मगर ,मनपुरा घर्ती मगरको घर जोखिममा परेको हो । अनुगमन टोलीले जोखिममा रहेका स्थानीयहरुलाई वर्षाको समयमा ती जोखिम भएक घरहरुमा नबस्न आग्रह गरेको छ ।

एकीकृत वस्ती निर्माणका लागि झण्डै डेढ करोड रुपैयाँ खर्च भएको छ । यही असारमा मात्रै केही घर सरेका छन् । योजना पुरा नहुँदै वस्ती  जोखिममा परेको छ ।

गाउँपालिका अध्यक्ष आसबहादुर पुनले भने, “यो कार्यक्रम अझै पुरा भएको छैन । एक वर्ष थप गरिएको छ र यसै आर्थिक वर्षभित्र सक्ने योजना छ ।”

सरकारले पुर्नवासका लागि प्रत्येक घरलाई ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । तर एकीकृत नमुना वस्ती भन्दै पुर्नवास गराएका परिवार नै फेरि विस्थापित हुने अवस्था आएको छ । अध्यक्ष पुनले भने, “यो त तनाव भयो, पहिरो जाने जस्तो पनि थिएन तर गएको छ त्यसैले गाउँपालिकाले अनुगमन गरको हो ।”

प्रदेश ५ सरकारको आर्थिक सहयोगमा भएको कार्यक्रममा शहरी विकास तथा भवन कार्यालय दाङले प्राविधिक सहयोग गरेको अध्यक्ष पुनले जानकारी दिए ।

वस्तीहरुको वरिपरि र सुलिचौर थबाङ जोडने मुख्य सडकको फुलिवनमा पहिरो आएर स्थानीयहरु लाई गोठ तथा खेती बारीमा ओहोर दोहोर गर्न समेत समस्या भएको स्थानीय जीवन घर्ती मगरले बताए ।

सुनछहरी गाउँपलिकाको सेरमको घुस्बाङ,फुलिवन र झन्कि गाउँहरुको वरिपरि सयौंको संख्यामा पहिरो गएको छ । यद्यपी अहिलेसम्म कुनै भौतिक र मानवीय क्षतिको जानकारी नआएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनले बताए ।

फुलिवनमा गएको ठूलो पहिरोको कारण थबाङ गाउँपालिका वडा नम्बर ४ र ५ उवाका स्थानीयहरुलाई आवतजावत गर्न र मालसामान ढुवानी गर्न समस्या भइरहेको स्थानीयवासीको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस !