१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यकर्मी लगायतका कर्मचारीलाई दुव्र्यवहार र अपमानित गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन

प्रकाशित मिति :  23 August, 2020 8:24 pm


काठमाडौं, ७ भदौ ।

गृह मन्त्रालयले स्वास्थ्यकर्मी लगायतका कर्मचारीप्रति दुव्र्यवहार र अपमानित हुने कृयाकलाप गर्नेमाथी तत्काल कानून बामेजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

देशका केही स्थानहरुमा कोभिड—१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर खटिएका स्वास्थ्यकर्मी लगायतका कर्मचारीप्रति दुव्र्यवहार तथा अपमानित गर्ने घटनाहरु हुन थालेपछि गृह मन्त्रालयले चासो देखाएको हो ।

गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा  भनिएको छ,“त्यस्ता कार्य हुन र गर्न नदिन तथा संलग्न हुनेहरु उपर तत्काल कानून बमोजिम कारबाही गर्न मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको छ ।”

कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा सम्बन्धित सबैबाट निरन्तर सहयोगको लागि समेत गृह मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना जोखिम बढ्न नदिन काठमाडौं उपत्यकाका तीनवटै जिल्ला सहित ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट निषेधाज्ञा आदेश जारी भई समन्वयात्मक रूपमा कार्यान्वयन भईरहेको गृह मन्त्रालयले जनाएको छ ।

कोभिड—१९ को संक्रमण जोखिम कम गर्ने सम्बन्धमा भएका निर्णय र निर्देशनहरु कार्यान्वयनको प्रभावकारिताका लागि ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजनमा संयुक्त अनुगमन टोली परिचालन हुने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उद्धार उडानबाट स्वदेश आउने व्यक्तिहरूलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानमा राख्ने क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापनको प्रक्रिया शुरु भएको पनि मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा छिमेकी मुलुकको दक्षिण सिमामा तोकिएका प्रवेश विन्दुबाट आवागमनको अभिलेख राखी व्यवस्थापन गर्ने कार्य भईरहेको उल्लेख छ ।

मन्त्रालयले हालसम्म मास्क प्रयोग नगरी हिड्ने ४,६४,२१६ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको र ३,९०,५४५ जनालाई सम्झाई बुझाई छाडिएको जनाएको छ । ४२,०६५ जनालाई मास्क वितरण गरी सम्झाई बुझाई पठाइएको र ३१,६०६ जनालाई जरिवाना गरी छाडिएको गृह मन्त्रालयको भनाई छ ।

हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ८,६२१ वटा सवारी साधन तथा अनुमति विना उपत्यका प्रवेश गर्न खोज्ने २०,८७६ जना यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !