२४ बैशाख २०८१, सोमबार

प्रदेश ५ : बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाईन, ‘सर्जिकल केस’ नेपालगञ्ज मेडिकल कलेजले हेर्ने

प्रकाशित मिति :  24 August, 2020 7:13 pm


प्रदेश ५ अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल छलफल गर्दै मुख्यमन्त्री शंकर पोखरेल

रुपन्देही, ८ भदौ ।

प्रदेश- ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारत लगायत जिल्ला बाहिरबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरि पालिकास्तरमा व्यस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रदेश-५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्जुअल छलफलमा मुख्यमन्त्री पोख्रेलले परीक्षणको दायरा बढाउन तथा भिडभाडहुने ठाउँ र धेरै घुमफिर गर्ने व्यक्तिहरु पहिचानगरी नमुना परिक्षणलाई तिव्रता दिन पनि निर्देशन दिएका हुन् ।

कोभिड १९ को व्यवस्थापनमा संलग्न सबैको समय समयमा परिक्षण गर्न पनि मुख्य मन्त्री पोख्रेलले भनेका छन् । कन्ट्र्याक ट्रेसिङको कामलाई उच्च प्राथमिकता दिनुका साथै छिटो रिजल्ट पाउनेगरी प्रयोशालासंग आवश्यक समन्वय गर्ने पनि छलफलमा मुख्यमन्त्री पोख्रेलले निर्देशन दिएका छन् ।

भिटिएमको अभाव हुन नदिन र अभाव भएमा जिल्ला स्वास्थ्य कार्यालयले खरिदगर्ने व्यवस्था मिलाउन भनिएको मुख्यमन्त्री पोख्रेलको सचिवालयले जानकारी दिएको छ ।

जिल्ला स्तरमा सबै संक्रमितलाई आइसोलेसनमा राख्नसक्नेगरी आइसोलेसन सेन्टरको व्यवस्था जिल्ला स्तरीय सीसीअएसीले मिलाउने र व्यवस्थापन खर्च प्रदेशले उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले जानकारी गराएका छन् ।

एरियावन्दी,निशेधाज्ञा र लकडाउन गर्दा विशेष विशेष मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिएका छन् । सकेसम्म सामान्य अवस्थामै जनजीववन असहज नहोस् भन्ने कुरा ख्याल गर्न र यातायात मात्र बन्द गर्दा हुने ठाउँमा सोही अनुसार गर्न मुख्यमन्त्री पोखरेलले प्रदेश अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

स्थानीय सञ्चार माध्यमलाई उपयोगगरी जनचेतना फैलाउन र भय र त्रासको वातावरण सिर्जना हुन नदिने व्यवस्था मिलाउन पनि भनिएको छ ।
मुख्यमन्त्री पोखरेलले स्वास्थ सुरक्षा मापदण्डको पालनामा जोड दिंदै आवश्यकता अनुसार कडाइ समेत गर्ने निर्देशन दिएका छन् ।

स्वास्थकर्मी र सुरक्षा निकायको मनोवल उच्च बनाइराख्न आवश्यक ध्यान दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोख्रेलले प्रोत्साहनभत्ता पाउनुपर्ने छुटेको भए प्रकृया अघि बढाउने बताएका छन् ।

जनप्रतिनिधिहरुसंगको समन्वय र सहकार्यमा जोड दिन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले सिमानाकाबाट हुने आउजाउलाई नियन्त्रण गर्न दिर्नेशन दिएका छन् ।

दशैको समयमा बहिरबट आउनेहरुको व्यवस्थापनमा अहिले देखिनै ध्यान दिनुपर्ने मुख्यमन्त्री पोखरेलको भनाई थियो ।  कोभिड-१९संग सम्वन्धित अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन र कोभिड १९ का सर्जिकल केसहरुलाई नेपालगंज मेडिकल कलेजमा पठाउन मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् ।

सुरक्षा निकायले आफ्नै क्याम्प वा कार्यालयमा आइसोलेसनको व्यवस्था मिलाउन पनि भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !