२५ बैशाख २०८१, मंगलबार

२४ घण्टाभित्रै पीसीआर रिपोर्ट उपलब्ध गराउन शिक्षा तथा स्वास्थ्य समितिको सरकारलाई निर्देशन

प्रकाशित मिति :  25 August, 2020 7:02 pm


काठमाडौं, ९ भदौ ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्रै पीसीआर परीक्षणको नतिजा उपलब्ध हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

आज भएको भर्चुअल बैठकमा समिति सभापति जयपुरी घर्तीले कतिपय बिरामीको अस्पतालमा उपचारका लागि रिपोर्ट पर्खदा ज्यान जाने अवस्था आएको भन्दै यस्तो निर्देशन दिएको जानकारी दिईन् ।

समितिले २४ घण्टाभित्रै परीक्षण परिणाम सम्बन्धितलाई इमेल, फोन अथवा भाइबरबाट भए पनि उपलब्ध गराउन भनेको छ । समितिले पीसीआर परीक्षण बढाउन समेत सरकारलाई निर्देशन दिदै एक घरबाट एक जनाको परीक्षण गर्न भनेको छ ।

समितिले होम आइसोलेसन धनी र घर हुनेलाई मात्र सम्भव भएकाले आइसोलेसन सेन्टर बढाउन सरकारलाई सुझाव दिदै एउटै कोठा वा फ्ल्याटमा बस्नेका लागि होम आइसोलेसन खतरापूर्ण रहेको भन्दै सरकारलाई सचेत गराएको छ ।

सभापति सभापति घर्तीले भर्चुअल मिटिङमा समुदायस्तरमा कोरोना पुगेको अवस्थामा व्यापक पीसीआर परीक्षण गर्न निर्देशन दिएकी छन् ।
समितिले सरकारलाई उपचारका लागि जनशक्ति अभाव भएको भए एमबिबिएस पास गरेका एक हजार विद्यार्थीलाई तत्कालै खटाउन समेत सरकारलाई सुझाव दिएको छ । क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापनमा स्वयंसेवक प्रयोग गर्न पनि समितिले सुझाव दिएको छ ।

“अहिल पनि विज्ञ जनशक्ति छैन भनेको सुनिन्छ”, घर्तीले भनिन्, “एमबिबिएस गरेर बसेका १ हजार जनशक्ति छ। महाविपत्तिको बेला सबै कानुन नियमको हिसाब नगरी तुरून्तै परिचालन गर्नुपर्छ। नियम कानुन हिसाब गर्दा मान्छे मर्छ। यो जनशक्ति परिचालन गर्नुपर्छ।”

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्दा झन जोखिम हुने बताए ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरू जीवनराम श्रेष्ठ र सरिता न्यौपानेले काठमाडौंजस्तो घना बस्तीमा कोरोना संक्रमण भएकाहरूलाई होम आइसोलेसनमा राख्दा घातक हुने चेतावनी दिए । उनीहरुले काठमाडौं उपत्यकामा बसोवासका हिसाबले पनि होम आइसोलेसनको मापदण्ड पूरा गर्न नसकिने बताए ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेकपाका सांसद जीवनराम श्रेष्ठले समितिको बैठकमा बरु योजना बनाउँदा घना वस्ती र कम वस्ती भएको ठाँउका लागि छुट्टा छुट्टै योजना बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “जहाँ घना वस्ती छ त्यहाँ कोरोना फैलियो भने नियन्त्रण गर्न गाह्रो छ । यस्तो ठाँउलाई प्राथमिकता राखेर तयारीका काम गनुपर्छ । सबै ठाँउमा एउटैखालको योजना बनाए असफल हुन सक्छौं र ठूलो समस्या बन्न सक्छ ।”

घना बस्ती भएको ठाउँमा कोरोना संक्रमितका लागि होम आइसोलेसन बनाउन नहुने सांसद श्रेष्ठको भनाइ थियो । उनले अहिलेको सरकारको तयारी प्रयाप्त नभएको बताए ।

नेकपाकै सांसद सरिता न्यौपानेले पनि काठमाडौंमा होम आइसोलेसन राख्न नहुनेमा जोड दिईन् । काठमाडौंमा घरधनीले पनि होम आइसोलेसनमा बस्न सक्ने अवस्था नरहेकाले बाहिरबाट आएर भाडामा बस्ने व्यक्ति कोरोना संक्रमित भएमा होम आइसोलेसन राख्न नहुने उनको भनाइ थियो ।

नेकपा सांसद विद्या भट्टराईले भने कोरोना भाइरसबाट संक्रमितको उपचारमा लागेका स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार भइरहेको भन्दै यसका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिईन् । उनले भने, “स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भएका छन् । कोरोनाको नाममा सामाजिक सद्भाव भड्किने खालका घटना भइरहेका छन् । त्यस्ता कुरा सरकारले रोक्नुपर्छ । ”

कांग्रेस सांसद मानबहादुर विश्वकर्माले संक्रमित व्यक्ति जुन ठाउँको हो सोही ठाउँ लेख्नुपर्ने र त्यसबारे जानकारी दिनुपर्ने माग गरे । उनले सरकारले संक्रमित व्यक्तिको ठेगाना लुकाएको आरोप लगाए ।

काठमाडौं प्रवेश गर्ने ठूलो ओहदाकालाई सरकारले सहजै प्रवेश दिएको तर सर्वसाधारणलाई अत्यावश्यक हुँदा पनि रोकेको भन्दै विश्वकर्माले आपत्ति जनाए ।

सांसद खगराज अधिकारीले कोरोनासंँग लड्न नयाँ कानून ल्याउपर्ने बताए । २०२० सालमा बनेको कानूनले अहिलेको महामारी धान्न नसक्ने भन्दै अध्यादेश मार्फत भएपनि नयाँ कानून ल्याउनुपर्नेमा जोड दिए ।

संघीय सांसद् डा।सुरेन्द्र यादवले प्रदेश २ अन्तर्गतका जिल्लामा सीमामा लापरबाही भइरहेको बताएका छन् ।

सरकारले सीमा बन्द गरेको भएपनि प्रदेश २ का जिल्लाहरुमा लापरबाही भइरहेको सांसद् यादवले बताएका हुन् । सांसद यादवले सीमा सुरक्षामा सशस्त्र प्रहरीले व्यापक लापरबाही गरिरहेको आरोप लगाएका हुन् ।

शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको ‘भर्जुअल’ बैठकमा समिति सदस्य रहेका यादवले सशस्त्र प्रहरीले पैसा लिएर भारतबाट मानिस भित्राउने गरेको आरोप लगाए ।

उनले भने, “बोडर सिल छैन । सशस्त्र प्रहरीले नै पैसा लिएर मानिस भित्राउने गरेको छ ।” सशस्त्र प्रहरी संघीय सरकार मातहत रहेको भन्दै सांसद यादवले यो के हो भन्दै प्रश्न गरे । प्रदेश -२ मा सशस्त्र प्रहरीको लापरबाहीका कारण संक्रमण बढेको संसद यादवले आरोप लगाए ।
कतिपय सांसदले संसदीय समितिको कुरो सरकारले वास्ता नगरेको भन्दै आलोचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !