२३ बैशाख २०८१, आइतबार

विद्रोही नेकपा नेता वीरजङ्ग सर्वोच्चको आदेशमा रिहा लगत्तै फेरि पक्राउ, संखुवासभा लैजाने तयारी

प्रकाशित मिति :  25 August, 2020 7:44 pm


फाईल फोटो

काठमाडौं, ९ भदौ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्दबहादुर चन्द ‘वीरजङ्ग’लाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको छ ।

भोजपुर कारागारबाट आज रिहा भएका नेता वीरजङ्गलाई पक्राउ गरेर संखुवासभा लैजाने तयारी गरिएको छ ।

सर्वोच्च अदालतले आज बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै नेता वीरजङ्गलाई बन्दी बनाउनुपर्ने स्पष्ट कारण नखुलेको र ‘स्पष्ट आधार र कारणबिना प्रवृत्त भावनाले केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने वा धरौटी दिन नसकेको भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएको’ भन्दै रिहाइको आदेश दिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशमानसिंह राउतको इजलासले रिहा गर्न आदेश दिएपनि भोजपुर कारागारबाट रिहा भएलगत्तै फेरि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले नेता वीरजङ्गलाई पक्राउ गरेको पुष्टि गर्दै उनलाई संखुवासभा लैजाने तयारी भएको जनाएको छ ।

वीरजङ्गलाई जिल्ला अदालत काभ्रेले गत साउन १५ गते रिहाइको आदेश दिए पनि प्रहरीले पुनः गिरफ्तार गरी उनलाई भोजपुर पु¥याएको थियो ।

नेता वीरजङ्गसहित नेकपाका २१ जना नेता–कार्यकर्तालाई प्रहरीले गत असोज ३० गते दाङबाट पक्राउ गरेको थियो । अन्य २० जना भने यसअघि नै रिहा भैसकेका छन् । नेता वीरजङ्गलाई भने दाङ देउखुरी अदालतले रिहाइको आदेश दिए पनि अर्को मुद्दा बाँकी रहेको भन्दै गिरफ्तार गरेर काभ्रे पु¥याइएको थियो ।

त्यस्तै जिल्ला अदालत काभ्रेले पनि रिहाइको आदेश दिएलगत्तै प्रहरीले गिरफ्तार गरी उनलाई भोजपुर पु¥याएको थियो । वीरजङ्ग विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको सहोदर दाजु हुन् । वीरजङ्ग उक्त पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज थिए ।



प्रतिक्रिया दिनुहोस !