५ जेष्ठ २०८१, शनिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो

प्रकाशित मिति :  26 August, 2020 1:12 pm


काठमाडौं, १० भदौं ।  काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँगको छलफल पछि भदौ १७ गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताए ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आवतजावत गर्न सक्नेछन् ।

यस्तै होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

निषेधाज्ञामा के गर्न पाइन्छ, पाइदैन थाहा पाउन तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.lumbinisanchar.com/wp-content/uploads/2020/08/nisedhagya.pdf

 



प्रतिक्रिया दिनुहोस !