४ बैशाख २०८१, मंगलबार

सिन्धुपाल्चोकमा पहिरोले पुराएको क्षतिप्रति प्रचण्डद्धारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह

प्रकाशित मिति :  13 September, 2020 1:48 pm


काठमाडौं, २८ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिरोबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।

उनले पहिरोमा परेर हराईरहेकाहरुको खोजी प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गरेका छन् । “दुःखद क्षणमा पहिरामा बेपत्ताको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासहित सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु”, अध्यक्ष प्रचण्डद्धारा आज जारी शोक वक्तव्यमा उल्लेख छ ।

उक्त पहिरामा परेका नौ जनाको शव फेला परेको छ । अन्य २२ जना हराइरहेका छन् । पहिराले १९ घर पुरिनाका साथै २२२ घर उच्च जोखिममा रहेको राससले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानमा केही महिनादेखि पहिराबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ । यस्ता पहिरो जाने सम्भावित स्थानको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकको स्थानान्तरण गर्नसमेत प्रचण्डले आग्रह गरेका छन् । उनले वक्तव्यमा भनेका छन्, “उनीहरुलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु ।”

अध्यक्ष दाहालले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !