८ बैशाख २०८१, शनिबार

रोल्पाको सुनछहरी झरना र दहवाङ ताल क्षेत्रको विकासका लागि ३५ लाख रुपैयाँ बजेट

प्रकाशित मिति :  15 September, 2020 11:09 am


जुनिस कुमार विष्ट-

रोल्पा, ३० भदौ ।

रोल्पाको सुनछहरी गाउँपालिकामा पर्यटन विकासको लागि ५ नम्बर प्रदेश सरकारले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने गाउँपालिकाले २० लाख रुपैयाँ भन्दा बढी बजेट छुट्टाएको छ ।

प्रदेश ५ सरकारले सुनछहरी झरनाको विकासका लागि २५ लाख र सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा रहेको दहवाङ ताल संरक्षणको लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएर आएको गाउँपालिका अध्यक्ष आसबहादुर पुनले जानकारी दिए ।

सुनछहरी झरनाको भने गाउँपालिकाले आफ्नै खर्चमा यस अगाडि नै डीपीआर गरिसकेको छ । प्रदेशबाट आएको बजेटले आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने तथा दहवाङ तालको लागि डीपीआर तयार गरि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिए ।

यस वर्ष गाउँपालिकाले २० लाख रुपैयाँ बजेट पर्यटन प्रवर्द्धन तथा विकास कार्यक्रमको लागि छुटाएको छ। साथै पर्यटन विकासका लागि विभिन्न वडापालिकाहरुले पनि बजेट विनियोजन गरेका छन्।

 

सुनछहरी गाउँपालिका वडा नम्बर २ भित्रीगामले रेडपान्दा संरक्षण तथा प्रचारप्रसार कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँ बजेट विनियोजन गरेकोछ। वडा अध्यक्ष तेमन घर्तीका अनुसार विश्वमै दुर्लभ मानिएको रेड पान्दा सुनछहरी गाउँपालिकाको गामको माथिल्लो भेगमा मात्र पाइने भएकोले यसको संरक्षण र प्रचारप्रसार गरि आन्तरिक तथा बाह्यपर्यटकहरु लाई भित्राउने लक्ष्य रहेको बताए ।

सुनछहरी गाउँपालिका वडा नम्बर ७ जेलबाङले होमहोमस्टेका लागि ब्रोसर, डकुमेन्ट्री र अध्ययन तथा अवलोकन भ्रमणका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८को आफ्नो नीति तथा कार्यक्रममा पर्यटनलाई विशेष जोड दिएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा भनिएको छ, सुनछहरी झरना र दहबाङ तालको संरक्षण योजना बनाई कार्यान्वयन गर्ने साथै सुनछहरी झरना हुँदै गामको गोहबाङ,बिबाङ दह,धनबाङ दह हुँदै तिलाचन ताल सम्म र बजुधुरी जेलबाङ हुँदै जलजलासम्म पर्यटन मार्ग निर्धारण गरि संरचना निर्माणको कार्यलाई अगाडि बढाई प्रचारप्रसार लाई विशेष प्राथमिकता दिने कार्यक्रम रहेको छ।

गाउँपालिका अन्तर्गत अभ्यासमा रहेका मौलिक संस्कृतिहरुलाई संरक्षण गरि पर्यटनसँग तादम्यता मिलाउदै आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्ने,होमस्टे स्थापना तथा प्रवर्द्धन गरि नीति निर्माण गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा छ ।

गाउँपालिका अन्तर्गत रहेका मुख्य मुख्य पर्यटकीय स्थलहरुको पहिचान गरि डकुमेन्ट्री मार्फत प्रचारप्रसार गर्ने,बजुधुरीमा भ्युटावर निर्माण गर्न योजना बनाई कार्यान्वयन गर्ने,विभिन्न गुफा मठमन्दिर धार्मिक स्थल,प्राकृतिक स्थलहरु लाई व्यवस्थित गरि पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !