२० बैशाख २०८१, बिहिबार

किसान आन्दोलन : चियाको न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता

प्रकाशित मिति :  16 September, 2020 8:27 am


इलाम, ३१ भदौ ।

हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई इलामको सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ ।

नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने छ तर कोरोनाको बहाना बनाउँदै अधिकांश चिया उद्योगीले ४० रुपैयाँ दिइरहेका छैनन् ।

उद्योगीसँग समन्वय गरेर नगरपालिकाले कार्यविधिमा तोकिएबमोजिमको चियाको मूल्य दिनुपर्ने नगरपालिकाका प्रमुख रणबहादुर राईले प्रतिबद्धता जनाएका हुन् । “नगरपालिका किसानको पक्षमा रहेकाले जसरी भए पनि न्युनतम मूल्य किसानलाई उद्योगीहरुबाट उपलब्ध गराउने प्रतिबद्धता गर्छु”, नगरप्रमुख राईले भने , “किसानलाई हतोत्साहित नहुन आग्रह गर्दछु ।”

सूर्योदय नगरपालिकाको मुख्य नगदेबालीको रूपमा नगरका करिब ६५५ भन्दा बढी किसान चिया खेतीमा आबद्ध छन् । नगरको मापदण्डलाई समेत नमान्दै उद्योगीले अहिले किसानलाई तोकिएको मूल्य नदिएका हुन् ।

मूल्य पाउनका लागि किसानले असारको पहिलो सातादेखि नै आन्दोलन शुरु गरेका हुन् तर उद्योगीले चासो नदेखाउँदा लामो समय बितिसक्दा पनि आन्दोलन निष्कर्षमा पुगेको छैन । “कति उद्योगले नदिएका हुन् । हामीसँग यकिन तथ्याङ्क त छैन तर धेरै उद्योग चाहिँ हिच्किचाइरहेका छन्”, नगरप्रमुख राईले भने, “किसान बारम्बार हेपिइरहेका छन् ।” रासस



प्रतिक्रिया दिनुहोस !