१९ बैशाख २०८१, बुधबार

असन्तुष्टिहरुलाई संविधानभित्रै रहेर संबोधन गर्न सबै पक्षको ध्यान जाओस् : उपराष्ट्रपति पुन

प्रकाशित मिति :  19 September, 2020 7:58 am


काठमाडौं, ३ असोज ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरुलाई संविधानभित्रै रहेर संबोधन गर्न र यसलाई थप परस्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै उपराष्ट्रपति पुनले भनेका छन्,“ नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य हो । संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरुलाई संविधानभित्रै रहेर संबोधन गर्न र यसलाई थप परस्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यान जाने विश्वास लिएको छु ।”

संविधान जारी भएको पाँच वर्ष पुगिसकेको सन्दर्भमा संविधान अनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भनेका छन्,“ संविधान दिवसले बाँकी कामहरु सम्पन्न गर्दै संविधानको पूर्ण कार्यान्वयन गर्न हामी सबैलाई प्रेरणा दिने र संविधान कार्यान्वयनका बाँकी काम यथाशक्य चाँडो पूरा हुने मैले विश्वास लिएको छु ।”

आजको दिन नेपाली ईतिहासमा एउटा स्वर्णीम दिन भन्दै उपराष्ट्रपति पुनले संविधानसभाबाट संविधान जारी गर्ने लामो समयदेखिको जनाकांक्षा पूरा गर्न भएका विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा सहादत प्राप्त गर्ने आदरणीय सहिदहरुप्रति उच्च सम्मानसहित यस अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धीहरु संस्थागत भएको यस स्वर्णीम दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्नुका साथै आफ्ना अधिकारहरु संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण यसवर्षको संविधान दिवस विगत वर्षहरुको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेपनि सबै नेपालीले घरमै बसेर संविधान दिवस मनाउनुहुने उपराष्ट्रपति पुनको विश्वास व्यक्त गरेका छन् ।

नेपालमा नियन्त्रण उन्मुख कोरोना भाइरस पुनः फैलदा संक्रमण र मृत्युदर दुवै बढिरहेको भन्दै उनले भनेका छन्,“आगामी दिनमा कोराना भाइरस संक्रमण अझै बढ्ने सम्भावनाले मलाई अत्यन्त चिन्तित बनाएको छ । म आफ्नो स्वास्थ्यको सुरक्षाका लागि स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा विशेष आग्रह गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !