१३ बैशाख २०८१, बिहिबार

१५ शैय्याको अस्पताल बनाउन संघीय सरकारको ७० लाख रुपैयाँ, छिटै निर्माण सुरु हुने

प्रकाशित मिति :  30 September, 2020 7:53 am


पोवाङमा रहेको स्वास्थ्य चौकीको भवन

जुनिस कुमार बिष्ट-

रोल्पा, १४ असोज ।

रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ५ पोवाङमा रहेको स्वास्थ्य चौकी १५ शैय्याको अस्पताल बन्ने भएको छ।

संघीय सरकारको स्थानीय तहमा १५ शैय्याको अस्पतालमा स्तर उन्नति गर्ने कार्यक्रम अन्तर्गत पोवाङ स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नतीका लागि संघीय सरकारबाट ७० लाख रुपैयाँ रकम विनियोजन भएको छ।

अब छिट्टै टेन्डर खोली अस्पतालको लागि भवन निर्माण गर्ने योजना रहेको गाउँपलिका अध्यक्ष आसबहादुर पुनमगरले जानकारी दिए ।

प्रयोगशाला तत्कालै सञ्चालन गर्नका लागि सूचना जारी गर्ने प्रक्रियामा रहेको र एम्बुलेन्सका लागि पहल भइरहेको अध्यक्ष पुनले बताए । उनले भने, अस्पताल भवन बनाउनका लागि हामी छिट्टै टेण्डर खोल्छौं, प्रयोगशालाका लागि पनि प्रकृया अगाडि बढ्छ ।

स्थानीय बुद्धिजीवी सुनबहादुर पुनमगरका अनुसार पोवाङमा स्वास्थ्य चौकी स्थापना भएपनि आफ्नै भवन नभएकोले स्थानीय सरु पुनको घरमा ३ वर्ष घरभाडामा लिएर स्वास्थ्य सेवा प्रदान गरिएको थियो । पछि जिल्ला विकास समितिले आर्थिक अनुदान प्रदान गरि स्वास्थ्य चौकीको लागि आफ्नै दुई वटा भवन बनेको थियो ।

अहिले पोवाङ स्वास्थ्य चौकीबाट दिइने सेवाहरुमा प्रवद्र्धनात्मक सेवा प्रतिकारात्मक सेवा र उपचारात्मक सेवा रहेका छन् ।

जस अन्तर्गत ओपिडी सेवा, खोप सेवा,गर्भवती जाँच सेवा,सुत्केरी जाँच सेवा,सुरक्षित मातृत्व सेवा, गाउँघर क्लिनिक सेवा, परिवार नियोजन सेवा,प्राथमिक उपचार सेवा, किशोरकिशोरी मैत्री सेवा, टिबी उपचार सेवा, कुष्ठरोग उपचार सेवा,योन रोग तथा एचआईभी एडस सेवा,वृद्धि अनुगमन सेवा, राष्ट्रिय भिटामिन ए कार्यक्रम,महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम,महामारी नियन्त्रण कार्यक्रम,पोषण सेवा,बालरोग तथा नवजात शिशु स्याहार सेवा लगायत रहेको स्वास्थ्य चौकीका इन्चार्ज जनक गिरीले बताए । स्वास्थ्य चौकीमा कार्यालय सहयोगीसहित छ जनाको दरबन्दी रहेको छ।



प्रतिक्रिया दिनुहोस !