१५ चैत्र २०८०, बिहिबार

काठमाडौँका विभिन्न सञ्चारगृहका पीडित पत्रकार तथा कर्मचारीको रिले अनसन सुरु

प्रकाशित मिति :  1 October, 2020 8:05 pm


काठमाडाैं, १५ असाेज । 

काठमाडौँका विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार तथा कर्मचारीहरुले रिले अनसन सुरु गरेका छन् ।

विभिन्न चरणका आन्दोलन घोषणा गरेका पत्रकार तथा कर्मचारीहरुले आज दिउँसो १ बजेदेखि रिले अनसन सुरु गरेका हुन् । कारोबार दैनिक, कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्ण दैनिक तथा विभिन्न अनलाईनमा कार्यरत पीडित पत्रकार तथा कर्मचारीहरु आन्दोलनमा छन् ।

उनीहरुले सञ्चार गृहका पीडित पत्रकार संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका हुन् । अनसनमा रहेका पत्रकार तथा कर्मचारीहरुलाई भेटेर विभिन्न पत्रकार,कर्मचारी तथा विभिन्न पत्रकार सम्बद्ध संघसंस्थाले उपस्थित भएर एैक्यबद्धता जनाएका थिए ।

घोषित कार्यक्रम अन्तर्गत आजदेखि गतेदेखि २० गतेसम्म ५ दिने रिले अनशन, असोज २१ गते अन्नपूर्णपोस्ट र कान्तिपुर टेलिभिजनमा एक घण्टा घेराउ कार्यक्रम तय भएको छ ।

असोज २२ गते कारोबार दैनिक र कान्तिपुर मिडिया ग्रुपमा एक घण्टा घेराउ, असोज २३ गते नागरिक दैनिकमा एक घण्टा घेराउ र असोज २४ गते नेपाल आजमा एक घण्टा घेराउ गर्ने कार्यक्रम तय भएको समिति संयोजक धर्मेन्द कर्णले जानकारी दिए ।

त्यस्तै असोज २५ गते सूचना तथा प्रशारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रर्दशन गर्ने, असोज २७ गते बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम तय भएको छ । कान्तिपुर, कारोबार, नागरिक, अन्नपूर्ण लगायतका संचारमाध्मयमा भइरहेको श्रमशोषणको बारेमा सबै शुभेच्छुक संघ संगठन र ऐक्यवद्धता दिन आव्हान गर्ने निर्णय समेत भएको संयोजक कर्णले जानकारी    दिए ।

संचारगृहको ज्यादति र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधि सभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालय लगायतलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गर्ने पनि संघर्ष समितिले निर्णय गरेको छ ।

सत्तापक्ष र प्रतिपक्ष एवं अन्य राजनीतिक दलहरु, कूटनीतिक नियोग, मानव अधिकार, सञ्चार सम्बद्ध संघ संगठनहरु, ट्रेड युनियनहरु तथा श्रम अधिकारसँग सरोकार राख्ने राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्था तथा सम्बन्धित निकायहरुमा जानकारी गराइ समर्थन प्राप्त गर्ने निर्णय भएको संयोजक कर्णले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !