१४ बैशाख २०८१, शुक्रबार

निजगढ विमानस्थल निर्विकल्प आयोजना हो : पर्यटनमन्त्री

प्रकाशित मिति :  4 October, 2020 7:26 pm


काठमाडौं, १८ असोज
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देशको राष्ट्रिय हित र विकाससँग जोडिएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको निर्विकल्प आयोजना भएको बताएका छन् ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा पर्यटनमन्त्री भट्टराईले वर्षौदेखि चर्चामा रहेको बहुप्रतीक्षित निजगढ विमानस्थल निर्माणका बाँकी उल्झनका विषयलाई किनारा लगाउँदै निर्माणलाई गति दिइने बताए ।

‘नागरिक उड्डयनको हालको अवस्था र कोभिड–१९ को प्रभाव सम्बन्ध’मा समितिलाई जानकारी गराउँदै मन्त्री भट्टराईले निजगढ विमानस्थल राष्ट्रिय हितको बहुआयामिक विषयसँग जोडिएको संवेदनशील आयोजना भएकाले सरोकार पक्षसँगको समन्वय र सहकार्यमा आयोजनालाई गतिशील बनाइने विश्वास व्यक्त गरे ।

पछिल्लो पटक निजगढ विमानस्थल निर्माणका लागि लगानी बोर्डले छनोट गरेको ज्युरिच इन्टरनेशनल एयरपोर्ट अन्तिम पटकको कबोल अवधिमा पनि सम्पर्कमा नआएको भनी समाचार आइरहेका सन्दर्भमा प्रष्ट पार्दै पर्यटनमन्त्रीले ज्युरिचको विकल्पमा नयाँ प्रक्रिया अघि बढाउन सकिने बताए । उहाँले भने,“निजगढ विमानस्थल निर्विकल्प आयोजना भएकाले हामी  यसलाई चाडो शुरुआत गरौँ भन्ने अडानमै छौँ, ठूलो लगानी जुटाउनुपर्ने भएकाले प्रयत्न जारी छ, ज्युरिचलाई अन्तिम मौका दिएका छाैँ, ऊ नआए नयाँ ‘च्याप्टर’ मा जान्छौँ ।”

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएको भनी उठेका जिज्ञासामा पर्यटनमन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को प्राब्वधानअनुरुप दिएको भए पनि संवेदनशील विषय भएकाले यसबारे छिट्टै उपयुक्त निर्णय लिइने जानकारी दिए । प्राधिकरणले गत भदौ २८ गते हिमालयलाई ग्राउण्ड ह्याण्डलिङ सेवाको अनुमति दिएकामा पर्यटनमन्त्री भट्टराईले यही असोज ११ गते उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

 

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९५ प्रतिशत भौतिक प्रगति

मन्त्री भट्टराईले महामारीकै बीच हवाई क्षेत्रमा भौतिक पूर्वाधारको काम निरन्तर भएको र हाल भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९५ प्रतिशत भौतिक प्रगति भई केही प्राविधिक काम मात्रै बाँकी रहेकाले शीघ्र सञ्चालनयोग्य भएको उल्लेख गरे । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण पनि निर्धारित समयभित्रै सम्पन्न गर्नेगरी तीव्र गतिमा भइरहेको बताए ।  मुलुकभर ५५ विमानस्थलमध्ये ३६ विमानस्थल कालोपत्रे भइसकेका जानकारी दिए।

 



प्रतिक्रिया दिनुहोस !