२२ बैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेश सभाको यो कार्यकाल बुटवलमै सकिन्छ होला !

प्रकाशित मिति :  7 October, 2020 9:17 am


रुपन्देही, २१ असोज ।

प्रदेश-५ अर्थात लुम्बिनी प्रदेशको स्थायी राजधानी तोक्दा चर्को विवाद भयो । प्रदेश सभामा कुर्सी तोडफोड समेत भयो । विवादकैबीचपनि ‘भर्जिन’ ल्याण्डको रुपमा रहेको दाङ देउखुरी स्थायी राजधानी दुईतिहाई बहुमतले पारित भयो ।

स्थायी राजधानी पारित भएपछि आक्रोसमा ‘बुटवलबाट तत्काल सर’ भन्ने आवाज सुनियो भने देउखुरीमा भौतिक संरचनै छैन के होला ? भन्ने टिप्पणी पनि समेत सुनिए । यसको जवाफ दिँदै प्रदेशसभामा मुख्यमन्त्री शंकर पोख्रेलले स्थायी राजधानी टुंगिएपनि ‘सर्न हतार नगर्ने’ स्पष्ट   पारे । यसले स्थायी राजधानी घोषणा गरिएको ठाउँबाटै तत्कालै काम सुरु नहुने देखिएको छ ।

प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको समिति संयोजक दिपेन्द्र कुमार पुन भन्छन्, “अहिले नै हामी हतार गर्दैनौं । मुख्यमन्त्री ज्यूले पनि त्यो प्रष्ट पार्नुभएको छ । हामीलाई तिमीहरु तत्कालै सरिहाल भन्ने सम्मको कुरा आयो तर आवेशका कुरा हुन ति । तत्काललाई बुटवलबाटै कार्य सञ्चालन हुन्छ ।”

स्थायी राजधानीको केन्द्रमा रहेको राप्ती गाउँपालिकाले तत्कालै स्थायी राजधानी व्यवस्थापन गर्ने प्रशस्त आधार रहेको स्पष्ट पारेको छ । गाउँपालिकाले एक वर्ष अगाडि नै एक हजार बिगाहा राजधानीका लागि भनेर छुट्टाएको घोषणा गरेको थियो ।  गाउँपालिकाको कार्यालय रहेको वडा नं. ३ मसुरिया नजिकै राप्ती प्राविधिक शिक्षालय छ ।

२२ बिगाहा क्षेत्रफलमा फैलिएको प्राविधिक शिक्षालयका ३५ जति भवन छ । झन्डै ३०० को हाराहारी मानिस अटाउने सभा हल छ । ५० को दशकमा विदेशी दातृ संस्थाले उक्तसभा हल निर्माण गरिदिए थिए ।

नजिकै आदर्श नमूना मावि छ । ३०/३२ कोठे भवन र आदर्श बहुमुखी क्याम्पसको समेत २ वटा भवनहरु खाली छ । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्राविधिक शिक्षालयलाई आदर्श नमुना मावि र आदर्श बहुमुखी क्याम्पसको भवनमा प्रविधिक सारेर शिक्षालयको संरचना प्रयोग गर्न सकिने बताए ।

नजिकै ६/७ बिगाहा जग्गा रहेकाले तत्काल त्यसैमा विद्यालय भवन निर्माण गर्न सकिने सुवेदीको भनाई छ । प्रदेश सरकारको मनस्थिति भने बृहत र बिस्तृत योजनासहितको भौतिक संरचना निर्माण गरेर मात्रै अगाडि बढ्ने देखिन्छ । त्यसैले मुख्य मन्त्री शंकर पोख्रेलले ‘काठमाडौँ जस्तो गल्ति नगर्ने’ बताइसकेका छन् । अर्थात अव्यवस्थित बजार बनोस् भन्ने प्रदेश सरकार चाहदैन ।

सांसद पुनले भने,” भौतिक पूर्वाधारहरु प्रयाप्त छन् भन्ने कुरा त आएको छ तर हामी बनिबनाउँ संरचनामा बस्ने भएको भए बुटवल बसेको भए हुन्थ्यो, घोराही तोकेको भए हुन्थ्यो, हामीले भर्जिन ल्याण्ड छनौट गर्नुको कारण नै व्यवस्थित र भनेजस्तो भौतिक पूर्वाधार निर्माणका लागि हो ।”

यति भनिरहँदा राप्ती गाउँपालिकाको आफ्नै भवन पनि अन्तिम चरणमा पुग्दैछ भने ९ वडामध्ये हरेकले कम्तिमा पनि एक करोड माथिका भवन बनाएका छन् । प्रशासनिक कार्यका लागि उक्त भवन प्रयोग गर्न सकिने गाउँपालिका अध्यक्ष सुवेदीको भनाई छ ।

साढे चार तलाको ६३ कोठाको गाउँपालिकाको भवन अन्तिम चरणमा छ। जमा दुई(तीन मन्त्रालय सहजै राख्न सकिने सुवेदीको भनाई छ । उक्त भवन फागुन/चैतसम्म निर्माण हुने छ ।

राप्ती प्राविधिक शिक्षालयभित्रै अर्को झन्डै १० बिगाहा क्षेत्रफलको नवज्योति विद्यालय रहेको र उक्त भवनपनि तत्काल प्रयोग गर्न सकिने गाउँपालिकाको प्रस्ताव छ । तर नेकपाका प्रमुख सचेक भुमिश्वर ढकालले भने अहिले नै प्रशासनिक संरचनाहरु सर्ने सम्भावना नभएको    बताए । उनले भने, “यो कार्यकाल सम्भावना छैन, यसपटक हामीले स्थायी राजधानी तोक्यौं अब अर्को चुनावमा कस्तो राजधानी बनाउने भनेर जाने हो । अहिले हठातमा सर्ने होईन ।”

ढकालका अनुसार अर्को कार्यकालकोपनि अन्तिमतिर मात्रै पूर्ण रुपमा प्रदेश राजधानीका रुपमा देउखुरीबाट काम हुन सक्छ । उनले भने,”विस्तृत गुरु योजना बनाएर जाने मुख्यमन्त्री ज्यूको चाहना छ त्यो अध्ययन हुँदैन समय लाग्ला, भौतिक संरचना निर्माणका लागि ग्लोबर टेण्डर आव्हान हुन्छ, अब भवनहरु निर्माण हुन सुरु हुन थालेपछि केही कार्यालय त सर्लान तर पूर्ण प्रशासनिक काम अहिले सम्भावना छैन ।”



प्रतिक्रिया दिनुहोस !