२२ बैशाख २०८१, शनिबार

कोरोना कहर पहुँचवालाका लागि ‘कमाउधन्दा’ बनेको भन्दै विप्लव नेतृत्व नेकपाको चेतावनी

प्रकाशित मिति :  28 October, 2020 4:30 pm


काठमाडौं, १२ कार्तिक ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना महामारीबाट प्रताडित आमनागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

उक्त पार्टीको केन्द्रीय कमिटीले आज एक अपिल जारी गर्दै कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारीकरण बन्द गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर्न पनि माग समेत गरेको छ । प्रतिबन्धित नेकपाले कोरोनाको कहर कतिपय पहुँचवालाहरूका लागि ‘कमाउधन्दा’ बनिरहेको दाबी गर्दै कोरोना सम्बन्धित र अन्य सम्पूर्ण भ्रष्टाचारमा संलग्नहरूलाई चेतावनीसमेत दिएको छ ।

अपिलमा भनिएको छ,”कोरोनाको कहर कतिपय पहुँचवालाहरूका लागि भने कमाउधन्दा बनिरहेको छ । कोरोनाका नाममा कमिसन र व्यापारीकरण चलिरहेको छ । उनीहरूलाई कारबाहीको सट्टा सरकार आफैँ भ्रष्टाचार र कमिसनमा व्यस्त छ । हामी कोरोना सम्बन्धित र अन्य सम्पूर्ण भ्रष्टाचारमा संलग्नहरूलाई गम्भीर चेतावनी दिन चाहन्छौँ ।”

सरकारले कोरोना सङ्क्रमण आशङ्कित सबैलाई निःशु्ल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने भन्दै नेकपाले कोरोनाबाहेकका अन्य बिरामीहरूको उपचारमा भइहेको लापरबाही अन्त्य गर्नुपर्ने र औषधीको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

कोरोना महामारीका विरुद्ध अग्रमोर्चामा लड्ने सुरक्षाकर्मी नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी डाक्टर, नर्स, सफाइकर्मी, सुरक्षागार्डलगायतलाई विशेष आर्थिक सुविधासहित सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा नेकपाको अपिलमा जोड दिइएको छ ।

हालै भारतीय गुप्तचर प्रमुखसँग नेपालको प्रधानमन्त्रीलगायत विभिन्न नेताहरूसँगको गोप्य मन्त्रणाले राष्ट्रियताबारे थप आशङ्का पैदा गरेको नेकपाको अपिलमा उल्लेख छ ।

नेकपाले राजनीतिक र कूटनीतिक मर्यादासमेत नाघेर नेपालको सीमा र सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिने व्यक्ति र संस्थालाई नै मानार्थ प्रधानसेनापतिको उपाधि दिने कार्यले नेपाली राष्ट्रियता र नेपाली सार्वभौमसत्ताको सम्मान हुन्छ वा अपमान ? भनेर प्रश्न गरेको छ ।

अपिलमा भनिएको छ,”यसैबीचमा भारतीय स्थलसेना प्रमुखको नेपाल भ्रमण तय भएको छ । केही समयअघि मात्र राजनीतिक र कूटनीतिक मर्यादासमेत नाघेर नेपालको सीमा र सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिने व्यक्ति र संस्थालाई नै मानार्थ प्रधानसेनापतिको उपाधि दिने कार्यले नेपाली राष्ट्रियता र नेपाली सार्वभौमसत्ताको सम्मान हुन्छ वा अपमान ? तसर्थ नेपाली राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा, अतिक्रमित नेपाली भूमि फिर्ताका लागि थप राजनीतिक, कूटनीतिक पहल र अन्तर्राष्ट्रियकरणका निम्ति विश्वभरिका नेपाली र शुभचिन्तकहरूको प्रभावकारी एकता र सङ्घर्षपूर्ण दबाब अनिवार्य छ ।”

अपिलको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस !