११ बैशाख २०८१, मंगलबार

रोल्पाको सुनछहरी गाउँपालिकाद्धारा आफ्नै भवन निर्माण सुरु,स्थानीयद्धारा ११.३२ रोपनी जग्गा दान

प्रकाशित मिति :  3 November, 2020 12:50 pm


रोल्पा, १८ कार्तिक ।

रोल्पाको सुनछहरी गाउँपालिकाले आफ्नै भवन निर्माण सुरु गरेको छ । गाउँपालिकाले ४ करोड ५० लाख रुपैयाँको लगानीमा २८ कोठे भवन निर्माण कार्य शुरु गरेको हो ।

भवन निर्माणका लागि गाउँपालिकाको ४ करोड ४ लाख रुपैयाँ र जिल्ला समन्वय समिति रोल्पाको ४६ लाख रुपैयाँ बजेट छुट्टाईएको छ ।

सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनमगरले नयाँ निर्माण हुन लागेको भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । भवनको निर्माण कार्य आउँदो वर्षको असार महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष पुनले बताए ।

उनले भने , “हाम्रो आफ्नो भवन नहुँदा जनताका काम गर्नमा समस्या भएको थियो, अहिले आफ्नो भवन निर्माण गर्नतिर लागेका छौँ, सबैलाई सहज हुने छ ।” उक्त भवन भूकम्प प्रतिरोधात्मक बनाइने योजना रहेको गाउँपालिकाका उपाध्यक्ष पबित्रा घर्ती मगरले जानकारी दिइन् । भवन निर्माण कार्यको जिम्मा ज्ञान ज्योति बिल्डर्स निर्माण सेवाले लिएको छ ।

तीन तल्लाको बन्न लागेको भवन सुनछहरी गाउँपालिका वडा नम्बर-५ पोबाङका स्थानीय जनताहरुले निःशुल्क दान गरेको जग्गामा गाउँपालिका कार्यालय भवन बन्ने भएको छ।

गाउँपालिका प्रशासन शाखा प्रमुख दयाबहादुर बुढामगरका अनुसार भवन बनाउन जग्गादाताहरु सुनबहादुर पुन,कालू पुन,धनबहादुर पुन,मनलाल पुन,चामे पुन,परबहादुर पुन,मनपुरा पुन,दले पुन,पिताराम पुन,केशबहादुर पुन,खनराम पुन,कमल पुन,गोमान पुन,खिना पुन,हिकलाल पुन,पुस्ते रोका,मनबहादुर पुन,लालजित पुन,काले पुन,सुनमती पुन,दलु पुनले जम्मा ११ दशमलव ३२ रोपनी जमीन उपलब्ध गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !