२२ बैशाख २०८१, शनिबार

पार्टी विरोधी गतिविधिले एकता भत्काउन सक्दैन : अध्यक्ष दाहाल

प्रकाशित मिति :  21 December, 2020 1:11 pm


काठमाडौं, ६ पुष ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले सोमबार विज्ञप्ति जारी गरेर पार्टी एकताबद्ध रहेको र कसैको पार्टी विरोधी गतिविधिले एकतालाई कुनै तात्विक असर नपर्ने स्पष्ट पारेका छन् ।

अध्यक्ष दाहालले जनताले ठूलो त्याग र बलिदानपूर्ण सङ्घर्षको परिणामस्वरुप प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको बताउँदै एकाधको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र एकतालाई भत्काउन नसक्ने ठोकुवा गरेका छन् ।

उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम जनसमुदायलाई आग्रह गर्दै भनेका छन् “ राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यस प्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु ।”

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको सिफारिशको पार्टी स्थायी कमिटीको बैठकले विरोध गरिसकेको समेत उल्लेख उल्लेख गरेका छन् । नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !