१८ बैशाख २०८१, मंगलबार

पूर्वसभामुख महराद्वारा पुर्ख्यौली घरमा पुस्तकालय बनाउन सुरु,१२ सय पुस्तक रोल्पा पठाए

प्रकाशित मिति :  13 January, 2021 2:43 pm


काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफ्नो पुर्ख्यौली घर रोल्पामा पुस्तकालय बनाउन सुरु गरेका छन् ।

श्रीमती सीताको निधनपछि उनले आफ्नो सुत्ने कोठालाई पुस्तकालय बनाउने घोषणा गरेका थिए । पुस्तकालयका लागि १२ सय पुस्तक रोल्पा पुराएको महराले लुम्बिनी सञ्चारलाई जानकारी दिए ।

उनले भने,“अहिले पुस्तकका र्‍याकहरु बन्ने काम भइरहेको छ । १२ सय पुस्तक रोल्पा पुराएको छु ।”

श्रीमती सीताको निधनमा आफ्नै घर रोल्पा नगरपालिका मेबाङमा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा घरलाई क्रमशः संग्रालयमा बदलिने बताएका थिए । उनले भनेका थिए,“अबका दिनमा यो घर क्रमशः संग्राहलयमा बदलिन्छ । यो साझा सम्पती हो मेरो मात्रै होईन सीताको पनि हो ।”

उनले पढ्न लेख्न परे महिनाको एक हप्ता रोल्पामा विताउने प्रतिबद्धता समेत जनाएका थिए । उनले भनेका थिए, “काठमाडौंमा काम गर्छु र त्यो राष्ट्रिय अन्तराष्ट्रिय थलो हो । त्यस्तै मेरो कर्मथलो दाङमा कमसेकम एक हप्ता दाङमा विताउँछु र पढ्न लेख्न परो भने एक हप्ता म यहाँ (रोल्पा घर) आउछुँ ।”

प्रतिबद्धताको दुई महिनामै महराले पुस्तकालय बनाउन सुरु गरेका हुन् ।

रोल्पा नगरपालिकाको मेबाङमा रहेको पूर्वसभामुख महराको घरमा बन्दै गरेको पुस्तकालयको र्‍याक

पूर्वसभामुख महराकी पत्नी सीताको उपचारकै क्रममा कात्तिक १९ गते काठमाडौंको नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो । दशैंमा पुर्ख्यौली  घर मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै कात्तिक १९ गते बिहान निधन भएको थियो । मंसिर २ गते पत्नी सीताको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले पुर्ख्यौली घरलाई पुस्तकालय बनाउने घोषणा गरेका थिए ।

महरा यसै हप्ता रोल्पा समेत पुग्दैछन् । उनले भने, “पुस्तकालय बनाउने काम भइरहेको छ । म दाङ जान्छु र यसै हप्ता रोल्पा पुग्छु ।”



प्रतिक्रिया दिनुहोस !