१७ बैशाख २०८१, सोमबार

कृषि मन्त्रीद्धारा कालीमाटी फलफुल तथा तरकारी बजारको अनुगमन

प्रकाशित मिति :  9 February, 2021 3:52 pm


काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले आज कालिमाटी फलफूल तथा तरकारी बजारको गरिन् । मंगलबार कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिएकी हुन् ।

अनौपचारिक पोशाकमा तरकारी बजार पुगेकी मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्य तालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिएकी छन् । केही कर्मचारीसहित कालीमाटी बजार अनुगमन गर्न पुगेकी मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिएकी थिइन् ।

फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समितिबिच छलफल गरी तत्काल एउटा निश्कर्षमा जाने समेत बताइन् ।

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउदै उनले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताइन् । बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने बताइन् ।

भोलीका दिनमा जुनसुकै परिस्थिति आउँदापनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने भन्दै उनले किसानलाई मलको अभाव हुन नदिने बताउँदै उनले भनिन् ‘अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त छ । हामीले किसानलाई मलको व्यवस्था गरिसकेका छौ । किसानहरुले सहज ढंगले मल प्राप्त गर्नुभएको छ ।’

बजारमा अनुगमनका क्रममा कालिमाटीमा व्यवस्थित ल्याब रहेको पाइएको भन्दै उनले छिट्टै परिक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको स्वास्थ्यमा समेत हुन फास्ट ट्रयाकबाटै काम भएको पाइएको बताइन् ।

यस्तै बजार व्यवस्थापन गर्न केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल सुरु गर्ने बताइन् । मन्त्री अर्यालले बजार अनुगमनका क्रममा भनिन्, ‘नेपालमा उत्पादित वस्तुहरूको उत्पादन बढाउन र वस्तु प्रद्र्धनमा चुनौती रहेको छ ।

पहिला के भएको थियो त्यो कुरा छाडौँ । अब बजार कसरी व्यवस्थित गर्न सकिन्छ ? व्यापारी र किसानलाई कसरी खुसी पार्न सकिन्छ ? बिचौलियाको अन्त्य कसरी गर्न सकिन्छ ? र कसरी बजारलाई व्यवस्थित गर्न सक्छौ, यसतर्फ छिट्टै हामी निष्कर्श निकाल्छौँ ।’



प्रतिक्रिया दिनुहोस !