१४ बैशाख २०८१, शुक्रबार

चिनी मिललाई उखु अभाव

प्रकाशित मिति :  15 February, 2021 12:44 pm


कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो ।

बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्दछ ।

दुवै मिलले सिजनमा मुस्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन । उखु अभाव भएपछि निर्धारित समयअगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले बताए ।

“किसानलाई उखुको उत्पादन बढाउनका लागि जग्गा बढाउनुपर्ने हुन्छ”, उनले भने, “नयाँ प्रविधितर्फ आकर्षित गरी उन्नतजात लगाउन उत्प्रेरित गरिए उखुको उत्पादन बढाउन सकिन्छ ।

कृषि उपकरणसँगै उखु खेती गर्ने आधुनिक तरिका किसानलाई सिकाइएको छ । “परम्परागतरूपमा हुँदै आएको खेती छाडेर किसानले ट्रेन्च प्रविधिबाट उखु खेती गर्दै आएका छन । एक बिघा जग्गामा २०० देखि ३०० क्विन्टल उत्पादन हँुदै आएको जग्गामा हाल ५०० देखि ७०० क्विन्टल उखु उत्पादन हुँदै आएको छ“ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कञ्चनपुरमा पाँच हजार ६३ हेक्टर क्षेत्रफलमा दुई लाख २२ हजार ३५७ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । सोमध्ये २०० बिघा क्षेत्रफलमा रेडक्रसले मर्सिकोरको सहयोगमा एमरेड परियोजनाअन्तर्गत बगरमा उखु लगाइने गरिन्छ । रासस



प्रतिक्रिया दिनुहोस !