१९ बैशाख २०८१, बुधबार

२ रुपैयाँ ४० पैसा खर्चेर १ रुपैयाँको सिक्का छाप्दै राष्ट्र बैंक

प्रकाशित मिति :  3 March, 2021 2:21 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको नयाँ नक्सा भएको १ रुपैयाँ दरको सिक्का छाप्न पोल्यान्डको टक्सार कम्पनी मेनिका पोल्स्का एसएलाई ठेक्का दिने निर्णय गरेको छ ।

राष्ट्र बैंकले गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा पोल्यान्डको कम्पनी छनौट भएको हो ।

राष्ट्र बैंकले १ रुपैयाँ दरको ३० करोड थान सिक्का छाप्न सो कम्पनीलाई ५१ लाख १५ हजार युरो (करिब  ७१ करोड ६१ लाख रुपैयाँमा ठेक्का दिएको हो । यो ठेक्का रकमलाई आधार मान्दा १ रुपैयाँको सिक्का छाप्न करिब २ रुपैयाँ ४० पैसाजति पर्ने देखिएको छ, यसमा ढुवानी खर्च जोडिएको छैन ।

नेपालमा सिक्का छपाइ गर्दा महँगो पर्ने भन्दै विगत केही वर्षयता राष्ट्र बैंकले १ र २ दरका सिक्का विदेशबाट छपाउँदै आएको छ । नेपालमा सिक्का छपाइ गर्ने राष्ट्र बैंकमातहतको टक्सार विभागले भने स्मारिका सिक्का, तक्मालगायतका वस्तु छपाइमा सीमित भएको छ ।

सरकारले भदौ २९ मा नेपाल राष्ट्र बैंकलाई नेपालको नयाँ नक्सा समेटेर १ र २ रुपैयाँको सिक्का निकाल्न स्वीकृति दिएको थियो ।  यसअघि नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको सिक्कासमेत चलनचल्तीमा ल्याएकोमा सर्वसाधारण झुक्किएको भन्दै त्यसलाई पुनः निष्कासन बन्द गरेको छ ।

बजारमा पर्याप्त सिक्का चलनचल्तीमा नहुँदा तथा निजी क्षेत्रका बैंकहरूले खुद्रा पैसा सटही गर्न नमान्दा पछिल्लो समयमा सुपरमार्केटदेखि खुद्रा पसलसम्म १, २ रुपैयाँका सट्टा ‘हल्स’ र ‘सोलो’ जस्ता चकलेट दिने विकृति बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस !