२३ बैशाख २०८१, आइतबार

एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेकाे आशङ्का

प्रकाशित मिति :  9 March, 2021 10:23 am


दैलेख । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ ।

आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिए ।

हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

उनले भने “शव फेला परेकाको सनाखत भइसकेको छ । नदीमा हामफालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन ।

” गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको उनले बताए । मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए ।

आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमानले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस !