२० बैशाख २०८१, बिहिबार

एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

प्रकाशित मिति :  12 March, 2021 8:29 am


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो ।

वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन् । सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प्रमुख चन्द्रकुमारी पुनले बताए ।

नगरभित्र यसअघि छवटा वडामा स्वास्थ्य केन्द्रका लागि भवन रहेकाले भवन नभएका बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

आधारभूत स्वास्थ्य सेवा सहजरूपमा नागरिकले पाउन सकुन् भनेर सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको र अहिले यसका लागि भवन निर्माण गर्न लागिएको नगरप्रमुख पुनले जानकारी दिए । हरेक वडामा स्वास्थ्यकर्मी पुर्याउने सरकारको नीतिअनुसार अहिले नगरभित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको उनले बताए ।रासस

 



प्रतिक्रिया दिनुहोस !