१४ बैशाख २०८१, शुक्रबार

वैदेशिक रोजगारीका माध्यमबाट भ्रमण वर्षको प्रवद्र्धन

प्रकाशित मिति :  22 December, 2019 9:00 pm


काठमाडाैं, ६ पुस ।

वैदेशिक रोजगारीको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गरिने भएको छ । वैदेशिक रोजगार व्यवसायीले विदेश जाने नेपालीलाई भ्रमण वर्षका प्रवद्र्धनात्मक टोपी, गन्जी, पोष्टर पम्पलेट अनिवार्य रुपमा उपलब्ध गराउने भएका हुन् ।

दैनिक करीब एक हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने गरेका सन्दर्भमा विदेश जाने नेपालीलाई भ्रमण वर्षको प्रवद्र्धनात्मक सामग्रीसहित पठाउन लागिएको हो । भ्रमण वर्ष शुभारम्भ भएको दिनदेखि नै व्यवसायीले विदेश जाने नेपालीलाई भ्रमण वर्षको प्रचारप्रसार हुने सामग्री उपलब्ध गराउने छन् ।

यसैगरी व्यवसायीले आ–आफ्नो कार्यालयमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुकाका साथै ‘लेटरप्याड’, ‘भिजिटिङ कार्ड’ लगायत कार्यालयका सामग्री र इमेलमा पनि भ्रमण वर्ष २०२० लेखिएको प्रतीक चिह्न प्रयोग गर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिनुभयो । सरकारले विभिन्न ११० मुलुकलाई संस्थागतरुपमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ । वार्षिक झण्डै पाँच लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुग्ने गरेका छन् ।

भ्रमण वर्ष शुभारम्भका दिन व्यवसायीको तर्फबाट १०० जनाको पदयात्रा गर्ने तयारी अगाडि बढाइएको उहाँको भनाइ छ । यही पुस १६ गते दशरथ रङ्गशालाबाट भ्रमण वर्ष २०२० को शुुभारम्भ गरिँदै छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !