२६ बैशाख २०८१, बुधबार

नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशतः आईएमएफ

प्रकाशित मिति :  6 April, 2021 7:22 pm


IMF_WEO 2021

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने बताएको छ । मुद्रा कोषले मंगलबार सार्वजनिक गरेको ‘वर्ल्ड इकोनोमिक आउटलूक-२०२१’मा विश्वव्यापी वृद्धि नै बलियो पुनर्बहाली हुने भए पनि नेपालले भने सामान्य पुनर्बहाली हासिल गर्ने उल्लेख छ ।

मुद्रा कोषका अनुसार सन् २०२० मा कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्रमै संकट उत्पन्न भइ ३.३ प्रतिशतले ऋणात्मक रहेकोमा कोभिडविरुद्धका भ्याक्सिनलगायतका कारणले यस वर्ष विश्व वृद्धिदर ६ प्रतिशतले पुनर्बहाली हुनेछ, जसमध्ये अति-विकसित अर्थतन्त्रहरूले ५.१ प्रतिशत र उदाउँदा अर्थतन्त्रहरूले ६.७ प्रतिशतको उच्च वृद्धिदर हासिल गर्नेछन् ।

उदाउँदा र विकासशील एसियाली अर्थतन्त्रमध्ये सन् २०२० मा ठूलाे धक्का बेहाेरेको माल्दिभ्सले सबैभन्दा उच्चदरकाे पुनर्बहाली हासिल गर्ने मुद्रा कोषले जनाएको छ । कोषका अनुसार सन् २०२० मा ३२.२ प्रतिशतले ऋणात्मक रहेको माल्दिभ्सको अर्थतन्त्रले सन् २०२१ मा १८.९  प्रतिशतको उच्च वृद्धिदर हासिल गर्नेछ ।

यसैगरी,  सन् २०२० मा ८ प्रतिशतले ऋणात्मक रहेको भारतले सन् २०२१ मा १२.५ प्रतिशतको उच्च वृद्धिदर हासिल गर्नेछ ।

गत आर्थिक वर्षमा १.९ प्रतिशतले ऋणात्मक आर्थिक वृद्धिदरको धक्का बेहोरेको नेपालले भने चालू आर्थिक वर्षमा २.९ प्रतिशत र आगामी आर्थिक वर्षमा ५.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने कोषले जनाएको छ ।

गत आर्थिक वर्षमा ४.८ प्रतिशतमा रहेको मुद्रास्फीति दर भने चालू वर्षमा बढेर ५.६ प्रतिशत पुग्ने र आगामी वर्ष ६ प्रतिशत पुग्ने कोषको प्रक्षेपण छ ।



प्रतिक्रिया दिनुहोस !