२१ बैशाख २०८१, शुक्रबार

धरहरा बनाउन विस्थापन गरिएको टक्सार सरकारी निकायसँगै भाडामा

प्रकाशित मिति :  27 April, 2021 5:55 pm


Taksar Bhawan

काठमाडौं । सरकारले धरहरालाई विस्तार गरी पार्कसहितको संरचना बनाउन सुन्धाराबाट हटाएको नेपाल राष्ट्र बैंकको सिक्कासहितका मुद्रा छपाइ गर्ने टक्सार सरकारी निकायसँगै भाडामा बसेको खुलेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार बबरमहलस्थित नेपाल औषधी लिमिटेडको भवन भाडामा लिएर त्यहाँ सारिएको हो ।

राष्ट्र बैंकको ६६ औं वार्षिकोत्सवमा गभर्नर अधिकारीले नेपाल औषधी लिमिटेडको भवन भाडामा लिई  अहिले त्यहीँबाट टक्सार महाशाखाको नियमित काम भइरहेको बताए पनि भाडा रकम भने खुलाएनन । ” सुन्धारास्थित यस बैंकको टक्सार महाशाखालाई बबरमहलस्थित सरकारी स्वामित्वको नेपाल औषधी कम्पनी लिमिटेडको भवन भाडामा लिई आवश्यक पूर्वाधार तयार गरी स्थानान्तरण गरिएको छ,” कार्यक्रममा उनले भने ।

पुरानो धरहरा भूकम्पले भत्केपछि नवनिर्मित धरहराको हालै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि धरहरा-सुन्धारा पार्कसहित अन्य ठूलो संरचना अझै बन्न बाँकी छ । ती संरचनाहरू बनिसकेपछि पनि सुन्धाराबाट विस्थापित गरिएको टक्सार महाशाखा कहाँ राखिनेछ भन्ने अझे निधो भइसकेको छैन ।

टक्सार महाशाखाले विगतमा विभिन्न दरका सिक्का र पदकहरू मुद्रण/टंकन गर्ने गर्थ्यो । लागत बढी भएको भन्दै केही वर्षयता राष्ट्र बैंकले चीनलगायत तेस्रो मुलुकबाट १ र २ का सिक्का छपाएर ल्याउने गरेको छ । टक्सार विभागले विभिन्न अवसरका स्मारिका सिक्का र पदकहरू भने टंकन गर्दै आएको छ ।

गभर्नर अधिकारीले दिएको जानकारीअनुसार २०७२ को भूकम्पले भत्केको बालुवाटारस्थित ललिता निवास र थापाथली दरबारका पुनर्निर्माण हुन अझै समय लाग्ने देखिएको छ । उनका अनुसार थापाथलीस्थित दरबारको पुनः निर्माण २०७७ फागुन मसान्तसम्ममा करिब ७४ प्रतिशत र बालुवाटारस्थित भवनहरूको पुनःनिर्माण कार्य ५७.१३ प्रतिशतमात्रै सकिएको छ ।



प्रतिक्रिया दिनुहोस !