२६ बैशाख २०८१, बुधबार

नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत : एडीबी

प्रकाशित मिति :  28 April, 2021 12:52 pm


ADO 2021 Nepal

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहने जनाएको छ ।

बैंक‌ले बुधबार सार्वजनिक गरेको ‘एसियन डेभलमेन्ट आउटलूक-२०२१’मा गत वर्ष (सन् २०२०) मा नेपालको आर्थिक वृद्धिदर कोभिड-१९ प्रभावका कारण १.९ प्रतिशतले ऋणात्मक रहे पनि गत साउनमा लकडाउन ‌हटाइएपछि  चालू वर्ष २०२१ मा केही बहाली भइ ३.१ प्रतिशत कायम हुने जनाइएको छ ।

बैंकले नेपालमा कोभिड-१९ को दोस्रो छाल संक्रमण दर  बढेसँगै सरकारले थालेका  रोकथामका कडा उपायहरूका कारण अहिले गरिएको  पूर्वानुमानभन्दा वृद्धिदर कम हुने जनाएको छ ।

बैंकका अनुसार चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.४ प्रतिशत पुग्ने, औद्योगिक क्षेत्रको वृद्धिदर २.५ प्रतिशत रहने र सेवा क्षेत्रको वृद्धिदर ३.४ प्रतिशत रहने जनाएको छ ।

मनसुनले साथ दिएको र धान खेती गरिएको क्षेत्र‌फ‌लमा धानको उत्पादन १.३ प्रतिशतले बढेका कारण कृषि क्षेत्रको समग्र वृद्धिदर पनि गत वर्षका तुलनामा बढेको बैंकको भनाइ छ ।

बैंकका अनुसार चालू आर्थिक वर्षमा ३ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर आगामी वर्ष भने बहाली भइ ५.१ प्रतिशत कायम हुने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !