३ जेष्ठ २०८१, बिहिबार

श्रम सम्बन्ध दीगो र भरपर्दो बनाउन निजी क्षेत्रको प्रतिवद्धता

प्रकाशित मिति :  1 May, 2021 3:23 pm


काठमाडौं ।

नेपालमा श्रम सम्बन्ध दीगो र भरपर्दो बनाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
श्रम सम्बन्ध सुधारको दिशातिर बढिरहेको जनाउँदै उनले श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

१३२ औ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै गोल्छाले श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन सबै क्षेत्र प्रतिबद्ध भएर लाग्नु पर्ने बताए ।

उनले लगानी प्रवर्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने कुरामा जोड दिए ।

कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेकाले दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षामा केन्द्रीत हुनुपर्ने भन्दै गोल्छाले अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने जोड दिए ।

“हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि संचालन गर्न आग्रह गरेका छौं, हाम्रा साम रहेको यो चुनौतीपूर्ण घडीमा सर्तकत पूर्वक जोखिम न्यूनीकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन,” गोल्छाले भने ।

“अहिले ७-८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाइन्छ, किन यसो भइरहेको छ? यसको कारण खोज्न जरूरी छ,” उनले प्रश्न गरे, “धेरै जसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैन्, यसको कारण के हो ?,”

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले  सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आइरहेकाले व्यवहारिक समाधान खोजिनुपर्नेमा जोड दिए ।

महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !