१७ बैशाख २०८१, सोमबार
कृषि विज्ञको एकै मत, 'नयाँ आर्थिक वर्षको बजेटले पनि वास्वविक किसानलाई छुन सकेन'

साना किसान र कोभिड केन्द्रीत कृषि बजेट ल्याउनुपर्नेमा जोड

प्रकाशित मिति :  6 May, 2021 10:37 pm


काठमाडौं । आगामी वर्षको कृषि बजेट साना किसानमुखी हुुनुपर्नेमा जोड दिएको छ । आर्थिक वर्ष ०७८/७९ को बजेटको अन्तिम तयारी भइरहँदा यस्तो सुझाव दिइएको हो ।

कृषि क्षेत्रका सरोकारवालाले कोभिडका कारण कृषि क्षेत्रमा परेको क्षर्तिको पूर्ति गर्ने गरी बजेट ल्याउनु पर्ने सुझाएका हुन् । बिहिबार एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस (अनाज) ले ‘कोरोना महामारी र कृषि बजेट’ विषय भर्चुअल संवाद कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकतामाथि बहस गरिएको हो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव तथा योजना महाशाखा प्रमुख डा. हरि बहादुर केसीले कृषि बजेटको तयारीका बारेमा प्रस्तुति दिएका थिए । मन्त्रालयको प्रस्तुतिमाथि टिप्पणी गर्दै कृषि विज्ञ कृष्ण पौडेल, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्व वैज्ञानिक तथा कृषि विज्ञ मनोज कुमार ठाकुर, खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी र राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रिता बास्ताकोटीले कोरोनाको प्रभाव कम गर्ने र बहुसंख्यक कृषकको हित हुनेगरि बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सहसचिव केसीले आगामी आवको लागि संघीय मन्त्रालयले कुल ३६ अर्व २३ करोडको बजेट सिलिङ भित्र रहेर बजेट तयारी गरिरेको बताए । बजेटमध्ये करिव १५ अर्व अनुदानमा र अनुदानमध्ये पनि ११ अर्व रासायनिक मलको अनुदानमा विनियोजन हुने जानकारी गराए ।

मन्त्रालयले आत्मनिर्भर कृषि अर्थतन्त्रको लागि प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा कार्यक्रम तयार गरिररहेको बताए । संघीय मन्त्रालय सिधै प्रदेश र स्थानीय तहलाई बजेट पठाउने गरिएको र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनासमेतका परियोजना परिचालन संघीय मन्त्रालयको प्राथमिकताका कार्यक्रम रहेको जानकारी दिए ।

केसीले विगतदेखिका निरन्तताका कार्यक्रम र केही थप कार्यक्रमसहित मन्त्रालयका प्राथमिकताहरु विस्तुतमा प्रस्तुत गरेका थिए । जसमा पशुपंक्षी, मत्स्य विकास कार्यक्रमहरु, समर्थन मूल्य, कृषक वर्गीकरण, प्रांगारिक प्रवद्र्धन लगायतका कार्यक्रम छन् ।

कृषि विज्ञ कृष्ण पौडेलले आगामी वर्षको बजेट पनि पराम्परागत तथा कृषि सुधारको लागि आश गर्न लायक नदेखिएको टिप्पणी गरे । बजेटमा साना किसान र प्रांगारिकलाई प्राथमिकता दिनुपर्ने सुझाव उनको छ ।

राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रिता बास्ताकोटीले मन्त्रालय तयारी गर्दै गरेको बजेट साना तथा महिलामुखी नदेखिएकाले स्थानीय स्तरमा उत्पादन हुने प्रारंगारिक मलमा सरकारको गाम्भीर्यता जरुरी रहेको बताइन् ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बजेटमा केही विषय उचित विषय रहे पनि आवश्यक विषयमा सम्बोधन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले भण्डार गृहदेखि किसान सुचिकरणका विषयमा मन्त्रालयको ध्यान जानु पर्ने सुझाव दिए ।

बजेटको ठुलो हिस्सा अनुदानमा खर्च हुँदा ती अनुदान कसले कति पाए भन्ने ‘डेटावेस’को आवयश्कता रहेको टिप्पणीकर्ता ठाकुरको टिप्पणी छ । वर्तमान परिस्थितिमा कोभिड केन्द्रित कार्यक्रम केन्द्रीय प्राथमिकतामा हुनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा बोल्दै अनाजका अध्यक्ष किरण आचार्यले संघीयतापछि संरचनागत समस्याले कृषि प्रभावित भएको चर्चा गर्दै जिल्ला कृषि कार्यालय र पशुसेवा कार्यलय पुनःस्थापनासमेतका संगठनात्मक सुधार गरेर मात्र कृषि विकासले गति लिन सक्ने बताए ।

अनाजले यसअघि नै कृषि बजेटका लागि लिखित सुझाव पत्र पेस गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !