२८ बैशाख २०८१, शुक्रबार

प्रयोगविहीन अक्सिजन सिलिन्डर खोज्दै प्रहरी, ललितपुरमा १५९ थान सिलिन्डर संकलन

प्रकाशित मिति :  7 May, 2021 4:47 pm


ललितपुर ।

महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा ललितपुर जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन अवस्थामा रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु संकलन गरिएको छ ।

कोभिड-१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव पूर्ति गर्न प्रहरीले सिलिन्डर खोजी कार्य गरेको हो।

संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय गराई तत्काल अति आवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज ईमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलकेललाई १५ थान अक्सिजन सिलिण्डर विरामीहरुको प्रयोजनका लागि बुझाइएको प्रहरीले जनाएको छ।

ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी उपरीक्षक प्रज्वल महर्जन, राष्ट्रिय अनुसन्धान बिभाग ललितपुरका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र घरेलु तथा साना उद्योग बिभागको समेतको टोलीले जिल्लामा रहेका अक्सिजन प्लान्टहरुको अनुगमन समेत गरेको छ ।

स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउने भएको छ। यस सम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गरी उपलब्ध गराउन परिसरले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !