१६ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीले भने- आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं

प्रकाशित मिति :  10 May, 2021 11:09 am


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहलाई लक्षित गर्दै छलफल गरेर समस्या समाधानका लागि आग्रह गरेका छन् ।

नेपाल समूहले ९ बजेसम्म दिएको समय सीमासम्म कुनै प्रतिउत्तर नदिएका प्रधानमन्त्री ओलीले १०ः५५ मा ट्वीट गर्दै भनेका छन,“आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।”

प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ,“नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ ।”

प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं !”

 



प्रतिक्रिया दिनुहोस !