१५ चैत्र २०८०, बिहिबार

कोभिडको नाममा रिचार्जर एपले उपभोक्ता झुक्यायो, एप डाउनलोड भयो अर्डर लिन मान्दैन

प्रकाशित मिति :  14 May, 2021 1:36 pm


काठमाडौं । कोडिभको समस्यामा रहेका बेला रिचार्जर एपले उपभोक्तालाई झुक्याएको छ । एप डाउनलोड बढाउन ह्याप्पी हावर अफरको नाममा उपभोक्ता झुक्याएको पाइएको हो ।

रिचार्जरमार्फत् शक्रबार दिउँसो १२ देखि ५ बजेसम्म सामान अर्डर गरेमा पल्स अक्सिमिटर ९९९ रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । एप डाउनलोड हुने तर अर्डर गर्न लाग्दा नखुल्ने भएपछि ग्राहक हैरानीमा परेका हुन् ।

ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निःशुल्क डेलिभरी हुने छ भने अर्डर गरी इसेवाबाट भुक्तानी गर्नेहरुले मात्र उल्लेखित मूल्यमा अक्सिमिटर पाउने रिचार्जरका सञ्चालक कम्पनी ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरको भनाइ समेटिएको प्रेस विज्ञप्ति जारी गरिएको थियो ।

सामाजिक सञ्जालमा रिचार्जरले ठगेको भन्दै गुनासो गर्न थालिएको छ । कोरोना संक्रमण तीव्र दरमा बढिरहेका बेला अक्सिजनको लेभल हेर्न अक्सिमिटर जरुरी पर्ने भएकाले सस्तो मूल्यमा बिना कुनै शुल्क घरमा नै अक्सिमिटर उपलब्ध गराउन लागेको जनाएपछि उपभोक्ताले धमाधम एप डाउनलोड गर्न थालेका थिए।

ई – कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने रिचार्जरले जनाएको थियो । रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने बताए पनि भने अनुसार काम नगर्दा उपभोक्ता निराश बनेका हुन् ।

रिचार्जरका सिइओ नकुल बुढाथोकीले भने प्राविधिक गडबडीले उपभोक्तालाई समस्या परेको बताए । “हिजैदेखि एपमा धेरै एक्सेस हुन थालेको हो, हामीले यति ठूलो माग आउँछ भनेर सोचेका थिएनौं,” उनले भने, “एकलाख बढी एक्सेस भएको छ, डकर नै डाउन भएर सर्भरसँग कनेक्ट हुन सकेको छैन ।”

पहिलो पटक धेरै उपभोक्ताले पहुँच गर्दा ‘एप क्र्यास’ हुने, वस्तुहरु नदेखाउने समस्या आएको भन्दै उनले उपभोक्ता ठग्ने कुनै मनसाय नभएकाले विशेष परिस्थितिमा अन्य वैकल्पिक विधिबाट अक्सिमिटरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने विश्वास दिलाए ।

रिचार्जरले ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखी ८२ हजार रुपैयाँमा उपलब्ध गराउने छ भने अक्सि ९९ क्यान अक्सिजन ५४९ रुपैयाँमा, सर्जिकल मास्क ५ रुपैयाँमा, के ९५ मास्क १५ रुपैयाँमा, कोरियन मास्क ३५ रुपैयाँमा, फेस शिल्ड ५५ रुपैयाँमा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले यसअघि जानकारी गराएको थियो ।

गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३५० रुपैयाँ, ५ लिटरको स्यानिटाइजर ७९९ देखी ९९९ रुपैयाँका साथै थर्मल गन ९९९ रुपैयाँमा उपलब्ध हुने तथा विभिन्न किसिमका पीपीइ सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध हुने भन्दै कम्पनीका तर्फबाट विज्ञप्ति जारी गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !