१२ बैशाख २०८१, बुधबार

एनआइसी एसिया बैंक र ईसेवाको रोल्पामा दुरुपयोग बढ्दो,फेक आइडीबाट पैसा माग्दै बैंकबाट निकालिंदै

प्रकाशित मिति :  15 May, 2021 10:52 am


रोल्पा । चार दिनअघि उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेश पुनमगरको फोटो सहितको फेसबुक एकाउन्टबाट पत्रकार खेमबहादुर बुढामगरलाई फ्रेन्ड रिक्वेस्ट आयो । तर उनले उक्त अनुरोध स्वीकार गरेनन्।

त्यसपछि उक्त आइडीको म्यासेन्जरबाट फेरि च्याट गरियो । पुन र बुढा पहिले नै फेसबुकमा साथी थिए ।

बुढाले पुनलाई भने “तपाईं हामी त पहिल्यै साथी छौं । किन फेरि रिक्वेस्ट पठउनु भएको ?” पुनको फेसबुक आइडीबाट जवाफ आयो “मेरो फेसबुक आइडीमा पाँच हजार साथी भइसकेकाले अर्को खोलेको । म दुई वटै आइडी चलाउँछु ।”

फेसबुक म्यासेन्जरको कुराकानीको सिलसिलामा बुढाको मोबाइल नम्बर मागियो । उनले आफ्नो नम्बर पठाई दिए । बुढा र पुनबीच कुराकानी सकियो । बुढा र पुनबीच म्यासेन्जरमा कुराकानी भएको केही छिनमै बुढाको मोबाइलमा कोड नम्बर आयो । बुढाले सोचे “फेसबुकमा कनेक्ट भइरहेको छ होला । तर परिमाण उल्टो भयो ।”

बिहीबार साँझ बुढाको फेसबुक म्यासेन्जरबाट च्याट् आयो, “भान्जा काठमाडौंमा मेरो एक जना साथीलाई पैसा पठाउनु पर्ने भयो, म भोलि मोबाइल बैकिङबाट फिर्ता गर्छु तपाईंलाई ।” विवेकले मामाको विश्वास गरेर ‘क्विक रेस्पोन्स कोड’बाट १५ हजार ९५० रुपैयाँ पठाइदिए । तर उक्त रकम रकम दुरुपयोग हुन पुग्यो ।

बुढालाई पठाएको रकम प्राप्त गर्न ‘टारगेट एच आर सोलुसन’ सिनामंगल काठमाडौं र रोसन कवाडी पसल नामको ‘क्विक रेस्पोन्स कोड’ प्रयोग भएको खुल्न आयो ।

बुढाको फेसबुक म्यासेन्जरबाट विवेक जस्तै उनका अन्य साथीहरूलाई पनि पैसा माग्ने काम भयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व उपाध्यक्ष हिरा बहादुर घर्तीमगरलाई पनि पैसा मागियो । उनले पनि एनआइसी एसिया बैंकको खाता नम्बर १०८५७५०४४५७८३००१ मा ६ हजार पठाइ दिए ।

घर्तीले भने “मलाई सुरुमा ११ हजार ५ सय मागेको थियो । मैले छैन भने । ६ हजार भए पनि पठाई दिनु भने पछि मैले पठाई दिएँ ।”
एनआइसी एसिया बैंक लिबाङ शाखाका अनुसार उक्त खाता नम्बर सुरेन्द्र चौधरीको भएको खुल्न आयो ।

उक्त खातामा दैनिक रुपमा रकम जम्मा भएको देखिन्छ । रकम जम्मा भएको क्षणभरमै खाताबाट रकम पनि निकालिएको एनआइसी एसिया बैंकले जनायो । बुढाको म्यासेन्जरबाट रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीलाई पनि पैसा मागियो ।

उनले भने “म्यासेन्जरबाट मलाई पनि पैसा मागियो । मैले सोचे लकडाउनको बेला केही समस्या परेको होला भनेर फोन गरे तर कुरो अर्कै परेछ । यसको हामी विस्तृत रुपमा अनुसन्धान गर्दैछौं ।”

बुढाको फेसबुकबाट एकै समयमा पैसा माग्ने क्रम जारी नै रह्यो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष महेश न्यौपानेलाई पनि मोबाइल बैंकिङबाट पैसा मागियो । तर उनले मेरो मोबाइल बैकिङ छैन भनेपछि ह्याकरले मोबाइल नम्बर मात्र मागे ।
बुढाकै म्यासेन्जरबाट पत्रकार मिनराज रोकालाई पनि ३० हजार ९०० मागियो ।

उनले भने “मैले मेरोमा ३० हजार छैन, २० हजार मात्र छ भने । त्यही पठाइ दिनु भन्यो । मैले तीन चोटी एनआइसी एसिया बैंकको खाता नम्बर १०८७५५७३५१५२४००१ पैसा पठाइ दिन प्रयास गरे“ । तर नगए पछि मैले खेम सरलाई फोन गरेर तपाईले पैसा पठाई दिनु भनेको मान्छेको एकाउन्टमा पैसा नै जाँदैन के भको सर भनेर भने ।”

“मिनराजले फोन गरेपछि मात्र मेरो फेसबुक आइडी ह्याक गरेर पैसा मागेको थाहा पाएँ“, पत्रकार खेम बुढाले भने , “यसमा बैंक, ईसेवा, फोन पेका कर्मचारीको समेत संलग्नता हुन सक्ने आशंका देखियो ।”

“छानविनका लागि मैले प्रहरीमा निवेदन दिएको छु । एनआइसी एसिया बैंक, ईसेवा, फोन पे सबैतिर सम्पर्क गरेर वास्तविकता पत्ता लगाउन कोसिस गरेँ, तर अहिले सम्म कैतबाट रेस्पोन्स छैन,” पत्रकार  बुढाले  थपे “निष्पक्ष छानबिन गरेर सर्वसाधारणको पैसामा भइरहेको बदमासीको वास्तविकता बाहिर आउनु पर्छ  । यसमा सबै सरोकारवालाको ध्यान जाओस ।”

 

ह्याकरले आफ्नो फेसबुक आइडीबाट ग्लोबल आइएमई बैंक लिबाङ शाखाका म्यानेजर प्रविन आचार्य, रोल्पा नगरपालिकाका अधिकृत सुदिप डाँगी लगायतलाई पनि पैसा माग्न भ्याएको बुढाले जानकारी दिए ।

करिब एक महिना अघि रोल्पा नगरपालिका–६ माडीचौरकी एक महिलाले एनआइसी एसिया बैंककै लिबाङ शाखामा रहेको खातामा २ लाख ७४ हजार जम्मा गरिन । त्यो रकम पनि जम्मा गरेको केही छिनमै बैंकबाट निकालियो । उनले प्रहरी र एनआइसी एसिया बैंकको लिबाङ शाखामा निवेदन दिइन । उनको पैसा कसरी दुरुपयोग भयो एनआइसी एसिया बैंकले अहिले सम्म जवाफ दिन सकेको छैन ।

 

पत्रकार बुढाको मात्र होइन, कृषि विकास बैंक उपशाखा लिबाङमा कार्यरत महेन्द्र शर्माको पनि फेसबुक म्यासेन्जर दुरुपयोग गरियो । शर्माका फेसबुक साथीहरुलाई पनि म्यासेन्जरबाट पैसा मागियो । उनले पनि प्रहरीमा छानविनका लागि उजुरी दिएका छन् । उनको उजुरीको पनि अझैं वास्तविकता पत्ता लाग्न सकेको छैन ।

पछिल्लो समय उपराष्ट्रपति पुत्र दिपेश पुनको फेसबुक आइडी दुरुपयोग गरेर पैसा माग्ने काम भइरहेको देखिन्छ । दिपेशले भने “मेरो फोटो राखेर फेक आइडी बनाई मानिसहरूलाई सटाउने काम विभिन्न गिरोहहरूबाट भइरहेको रहेछ । सबैजना सजग हुनु होला । वास्तविकता पत्ता लगाउन म पनि लागि परेको छु ।”



प्रतिक्रिया दिनुहोस !