२३ बैशाख २०८१, आइतबार

अपाङ्गता भएका व्यक्तिको बिमा गर्नै समस्या

प्रकाशित मिति :  25 May, 2021 3:57 pm


अनुपआचार्य-

काठमाडौं । जीवन बिमाले जोखिम व्यवस्थापन गर्न सहयोग गर्ने भए पनि अपाङ्गता भएका व्यक्तिहरूलाई यसले सहयोग गरेको छैन । अपाङ्गता भएका व्यक्तिको जीवन बिमा गर्नै समस्या हुने गरेको राष्ट्रिय अपाङ्ग महासंघका पूर्वअध्यक्ष सुर्दशन सुवेदीले बताए ।

बिमा जोखिम वहनका लागि गरिर्ने भए पनि बिमा कम्पनीले अपाङ्गता भएका व्यक्तिलाई ‘रिस्क जोन’ भित्र राखेको सुवेदीले जानकारी दिए ।

भइपरि आएको जोखिमलाई जीवन बिमाले आर्थिक सुरक्षा प्रदान गर्ने भए पनि बिमा कम्पनीले अपाङ्गता भएकाहरुलाई सहयोग नपुर्‍याएको अपाङ्गता क्षेत्रका अभियन्ताहरू बताउँछन् । “बिमाले व्यक्तिगत र परिवारको आर्थिक सुरक्षा गर्ने भएपनि अपाङ्गता भएकाहरुलाई यसले सुरक्षा दिएको छैन,” सुवेदी भन्छन् ।

केही बिमा कम्पनीहरूले भर्खरैदेखि अपाङ्गता भएका व्यक्तिहरूको जीवन बिमा गर्न थाले पनि विभिन्न बहानामा पन्छिने, बिमा प्रिमियम बुझ्ने सिलसिलामा समस्या सिर्जना गर्ने अपाङ्गता भएका व्यक्तिहरूको तीतो अनुभव छ ।

अपाङ्गता भएकाहरुको जीवन बिमा गर्दा २– ३ लाख सम्मको गर्ने र १५–२० लाखको बिमा गर्दा कम्पनीले प्रिमियम बढाउन र विभिन्न बहाना गर्ने गरेको सुवेदीले बताए ।

उनले “अपाङ्गता भएका व्यक्तिलाई जुनसुकै बेला जे पनि हुन सक्ने बिमा कम्पनीले यस्तो गरेको रहेछ भन्ने अहिले अनुसन्धान गर्दै जाँदा बुझियो । ”

मानिसमा आइपर्ने विभिन्न समस्या जीवन बिमाले सामना गर्ने क्षमता प्रदान गर्नुपर्ने हो तर यस्तो भएको छैन । सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुलाई बिमा तथा, बैंकमा धेरै समस्या हुने गरेको भन्दै अधिकारको लागि प्रयास गरिरहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस !