८ जेष्ठ २०८१, मंगलबार

व्यापार घाटाबारे प्रधानमन्त्रीको भ्रामांक

प्रकाशित मिति :  28 May, 2021 6:10 pm


काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले स्थापित परम्परा मिच्दै राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रम आ‌फैले वाचन गर्दा गलत तथ्य प्रस्तुत गरेको पाइएको छ । राष्ट्रको नाममा सम्बोधनका नाममा जारी नीति तथा कार्यक्रमको वक्तव्य प्रधानमन्त्री ओलीले भने- ‘पहिलो पल्ट निर्यात व्यापारले एक खर्बको लक्ष्य नाघेको छ, व्यापार घाटा घट्दो छ।’

निर्यात सम्बन्धी विवरणमा उनको दाबी सत्य भए पनि व्यापार घाटा घटेको उनको भनाइ गलत पाइएको हो । गत आर्थिक वर्षमा गत आव २०७६/७७ मा कोभिड महामारी नियन्त्रणका लागि लगाइएको पाँच महिने लकडाउनका कारण १० खर्ब ९९ अर्ब कारण रुपैयाँमा खुम्चिएको व्यापार घाटा चालू आवको पहिलो १० महिनामै ११ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।

यो प्रधानमन्त्री ओलीले कार्यभार सम्हाल्दाको पहिलो वर्षको व्यापार घाटा बराबर हो । ओलीले कार्यभार सम्हालेको पहिलो वर्ष २०७४/७५ मा व्यापार घाटा  ११ खर्ब ६३ अर्ब रुपैयाँबराबर थियो । कार्यकालको दोस्रो आर्थिक वर्ष, २०७५/७६ मा व्यापार घाटा उचालिएर १३ खर्ब २१ अर्ब, रुपैयाँ पुग्यो ।

मासिक आयात निर्यात अनुपात हेर्दा ७ महिनासम्म मासिक १ खर्ब ४० अर्बको हाराहारीमा आयात र १० अर्ब रुपैयाँबराबरको निर्यात हुँदै आएकोमा चैतयता मासिक आयात नै औसत मासिक १ खर्ब ६५ अर्ब नाघेको छ । यसले चालू आर्थिक वर्षको अन्त्यसम्म व्यापार घाटा १३ खर्ब रुपैयाँभन्दा नाघ्ने देखाएको छ ।

सोयाबिन तेलले बढाएको निर्यात

देशको निर्यात व्यापार पहिलो पटक बढेर १ खर्ब रुपैयाँ नाघेको भए पनि त्यसमा सोयाबिन तेलको मुख्य हात रहेको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार कुल निर्यात व्यापारमा सोयाबिन तेलको अंशमात्रै ३३ प्रतिशत छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो १० महिनामा १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भएकोमा ३५ अर्ब ७५ करोड रुपैयाँबराबरको सोयाबिन तेलमात्रै निर्यात भएको छ ।



प्रतिक्रिया दिनुहोस !