४ जेष्ठ २०८१, शुक्रबार

कोभिड नियन्त्रणका नाममा भइसक्यो २३ अर्ब खर्च

प्रकाशित मिति :  29 May, 2021 9:57 am


काठमाडौं । विश्वव्यापी कोभिड-१९ महामारीका रोकथाम, नियन्त्रण र उपचारका नाममा हालसम्म २३ अर्ब १५ रुपैयाँ खर्च गरिसकिएको पाइएको छ, जसमध्ये सबैभन्दा बढी स्थानीय तहबाट ९ अर्ब ६ करोड र संघीय सरकारले ८ अर्ब ५४ करोड रुपैयाँ खर्च गरेको छ ।

गत आर्थिक वर्षको चैतदेखि कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका नाममा खर्च गर्न थालिएको हो । गत वर्ष क्वारेन्टिन निर्माण, व्यवस्थापन तथा राहत बाँडेको भनेर प्रदेश र स्थानीय तहले ठूलो बजेट खर्च भएको विवरण देखाएका हुन् ।

गत आर्थिक वर्ष २०७६/७७ को चार महिनामै यो शीर्षकमा १३ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ खर्च गरिएकोमा चालू आर्थिक वर्ष २०७७/७८ को १० महिनामा ९ अर्ब ६१ करोड २५ लाख रुपैयाँ खर्च गरिएको महालेखा नियन्त्रकको तथ्यांक छ ।

यसमध्ये संघीय कोरोना कोषमा हालसम्म विभिन्न दाताबाट २ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ जम्मा भएकोमा २ करोड ५२ लाख ५९ हजार रुपैयाँ खर्च भइसकेको छ ।

केन्द्र/संघ सरकारले गत वर्षको ४ महिनामा कोभिडका नाममा ४ अर्ब ८१ करोड खर्च गरेकोमा यस वर्ष १० महिनामा ३ अर्ब ३२ करोड खर्च गरेको छ ।

यसैगरी, प्रदेश सरकारहरुले गत वर्षको ४ महिनामा कोभिडका नाममा १ अर्ब ४९ करोड खर्च गरेकोमा यस वर्ष १० महिनामा १ अर्ब ५२ करोड खर्च गरेका छन् ।

यस्तै, स्थानीय निकायहरुले गत वर्षको ४ महिनामा कोभिडका नाममा ६ अर्ब १९ करोड खर्च गरेकोमा यस वर्ष १० महिनामा २ अर्ब ८७ करोड खर्च गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !