२३ बैशाख २०८१, आइतबार

‘रासायनिक विषादीले नेपालीको पोषण सुरक्षा जोखिममा’

प्रकाशित मिति :  6 June, 2021 9:13 pm


काठमाडौं ।

रासायनिक विषादीको अव्यवस्थित प्रयोग र नियमन गर्ने कमजोर संयन्त्रणका कारण नेपालमो खाद्य स्वच्छता तथा पोषण सुरक्षा जोखिममा रहेको खाद्य वैज्ञानिक तथा सरोकारवालाले बताएका छन् ।

बिउबिजन, मलखाद, रासायनिक विषादीदेखि दानाजन्य पदार्थ र उत्पादित खाद्यवस्तुसमेतको आयात बढेकाे तर खाद्य स्वच्छ छ वा छैन भनेर यकिन गर्न समस्या देखिएकाे छ ।

विश्व खाद्य स्वच्छता दिवसको पूर्व सन्ध्यामा एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टनस् (अनाज) र हलोखबरडटकमले आयोजना गरेको कोरोना महामारीको समयमा खाद्य तथा पोषण सुरक्षाको अवस्था बारेको बहस कार्यक्रममा बोल्ने वक्ताहरुले खाद्य तथा पोषण सुरक्षाका लागि खाद्य स्वच्छताको बारेमा चर्चा गरेका हुन् ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. मतिना जोशी बैद्यले नेपालमा विषादी र मलखादको चेकजाँच गर्ने प्रयोगशालाहरुको क्षमता बढाउन नसक्दा खाद्य स्वच्छताको अवस्था कस्तो छ भन्ने नै यकिन भन्न नसकिने अवस्था रहेको बताइन् ।

“खाद्य तथा पोषण सुरक्षा हाम्रा संवैधानिक अधिकार हो तर एउटा निकाय वा व्यक्तिको प्रयासले मात्र अधिकार प्रत्याभूति हुन सक्ने अवस्था छैन, यसको लागि सक्षम प्रयोगशाला र नियमन गर्ने निकायको सक्रियता तथा सबैको प्रतिवद्धता आवश्यकता पर्दछ,” उनले भनिन् ।

नेपालको अन्तराष्ट्रिय मान्यताप्राप्त केन्द्रीय खाद्य प्रयोगशालाले विषादीको एक सय वटा प्यारामिटर मात्र जाँच गर्न मिल्ने अवस्था रहेको तर विषादीको मात्र करिव ५ सय प्यारामिटर रहने भएकाले जनताले खाने खाद्यान्न कति सुरक्षित छ भन्न नसकिने अवस्था रहेकामा उनले चिन्ता व्यक्त गरिन् ।

यसअघि कृषि विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देश भएर काम गरिसकेकी वैद्यले नेपालको खाद्य प्रयोगशालाको क्षमता बढाउनुपर्नेमा जोड दिइन् ।

दानाजन्य पदार्थमा पनि एन्टिवायोटिकको प्रयोग भइरहेको चर्चा गर्दै उनले नागरिकको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गर्न प्रयोगशालाको क्षमता बढाउनुपर्ने, नियमनमा कडाइ गर्नुपर्ने र नीतिगत व्यवस्था गरी लागू हुनुपर्ने उनको सुझाव छ ।

प्रदेश कृषि मन्त्रालयले आफ्नो क्षेत्राधिकारमा पर्ने यी विषयमा ध्यान दिएर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको उनले बताइन् ।
सो भर्चुअल कार्यक्रममा बोल्दै एसोसिएशन अफ नेप्लिज एग्रिकल्चरल प्रोफ्रेसनल या अमेरिकाज् (नापा) का उपाध्यक्ष डा. प्रदिप वाग्लेले मुलुकको खाद्य स्वच्छता कायम गर्न सरकारदेखि सरोकारवाला सबैको पहल जरुरी रहेको बताए ।

नेपालको कृषि मूल्य श्रंखला सुधारका लागि अमेरिका, क्यानडा लगायतका मुलुकमा कार्यरत कृषि वैज्ञानिकहरुको ज्ञान र शीप नेपालमा प्रयोग गर्न नापाले काम गरिरहेको बताए ।

नेपालको कृषि विकासको लागि विश्वभर छरिएका ५ सय बढी कृषि भिन्न भिन्न क्षेत्रका विज्ञका रुपमा अनुभव संगालेका कृषि विज्ञहरु नेपालमा विना शुल्क ज्ञान विस्तार गर्न सहयोग गर्न तयार रहेको उनले बताए ।

कृषि प्रधान मुलुक भएर पनि कृषिमा आधुनिकरण, यान्त्रिकरण र व्यवसायीकरण व्यवस्थित रुपमा हुन नसक्दा बाहिरबाट खाद्यान्नसमेत आयात गर्नुपर्ने अवस्था आएको वक्ताहरुको भनाइ छ ।

नियामक निकायहरु कम सक्षम भएकाले आयातित खाद्यको गुणस्तर यकिन हुन नसक्दा खाद्य सुरक्षा जोखिममा रहेको वैज्ञानिकहरुको भनाइ छ ।

क्यानडा नेपाल विजनेस काउन्सिलका अध्यक्ष डा. पुर्ण कँडेलले नेपालको उत्पादन क्षमता हुँदा पनि नेपालमा आयात हुने खाद्यान्न मध्ये २५ प्रतिशत खाद्यान्न अमेरिका र क्यानाडाजस्ता मुलुकबाट आयात गर्नु परिरहेको बताए ।

उनले नेपालमा उच्च मूल्यका वस्तु उत्पादन गरेर विकसित मुलुकमा निर्यात गर्नुपर्ने र प्रविधिको प्रयोगले उत्पादन वृद्धिमा जोड दिनुपर्ने सझाव दिए ।

क्यानडास्थित लिम इन्टरनेशनल कोअपरेसनका सिइओसमेत रहेका कँडेलले नेपालबाट कर्णालीका अग्र्यानिक खाद्यान्न क्यानडा लगेर विक्री गर्नेसमेत काम गरिररहेका छन् ।

कर्णालीको खाद्य वस्तु क्यानडा पठाउने कर्णार्ल सेफ एण्ड सुफरफुडका सिइओ राज शाहीले खाद्य स्वच्छताका लागि जैविक उत्पादनमा जोड दिए ।

जैविक खेतिपाती गर्नाले नेपालीको खाद्य स्वच्छता कायम रहने र विश्वभर नेपालका उत्पादन विक्री गर्नसमेत सकिने उनको भनाइ छ ।
कार्यक्रममा आफ्नो विचार राख्दै कृषि विकास बैंकका लोड विभाग प्रमुख बाबुकाजी थापाले बहुसंख्यक कृषक साना किसान रहेकाले कृषिका अनुदानहरुको समान वितरण हुन सकेमा मात्र नेपालीको खाद्य सुरक्षा कायम गर्न सकिने बताए ।

अनुदान लिने र अनुदान नलिने किसानको उत्पादनको मूल्य एउटै हुने भएकाले नगद भन्दा यन्त्र, बिउ, सिंचाइ, मलमा अनुदान दिने व्यवस्था गरेमा कृषकको आयस्तर बढेर खाद्य सुरक्षामा योगदान पुग्ने उनको तर्क छ ।

अर्का वक्ता इश्वरमान श्रेष्ठले पनि सबै तह र तप्काबाट पहल गरेर खाद्य सुरक्षा र स्वच्छतामा गम्भीर भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै डा. विनोद गुप्ताले कोरोना महामारीको समयमा दूध तथा दुग्ध पदार्थको प्रयोगलाई बढावा दिएर कोरोना महामारी विरुद्ध लड्न सहज हुने सुझाए ।



प्रतिक्रिया दिनुहोस !