१८ बैशाख २०८१, मंगलबार

नेप्सेमा ३ हजार नाघेर नयाँ कीर्तिमान, लगानीकर्ता भन्छन्, ‘बजार अझै माथि जान्छ’

प्रकाशित मिति :  14 June, 2021 5:49 pm


अम्बिका शर्मा-

काठमाडौं ।

कोभिड संक्रमणको माहामारीकै बीच उक्लिन सुरु गरेको नेप्सेले साेमबार ३ हजार अंक पार गरेर हालसम्मकै उच्च अंकमा पुगेको छ । हिजो भन्दा आज कारोबार रकम झिनो अंकले घटेपनि नेप्से परिसूचक भने ४२ अंकले बढेर नयाँ कीर्तिमान कायम गरेको छ ।

हिजो पनि नेप्सेमा दुईओटा कीर्तिमान  कायम भएका थिए । नेप्से परिसूचक २९८३.१० अंकमा पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो भने अर्को साढे १९ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएर नेप्सेले सर्वाधिक उच्च कारोबारको नयाँ किर्तिमान राखेको थियो ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४२.७२ अंकले बढेर ३०२५.८३ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १०.६० अंकले बढेर ५५०.०२ मा पुगेको छ ।

कोरोनाकालमा चौतर्फी सकस परिरहेको बेला सेयरबजारले भने पूर्ण साथ पाईरहेको छ । दिनानुदिन लगानीकर्तामा उत्साह थपिदै गएको छ भने बजार प्रवेश गर्ने नयाँ लगानीकर्ताको संख्याँ पनि बढ्दै गएको छ ।

कोभिडका कारण सम्पूर्ण आर्थिक क्षेत्र मारमा परेको अवस्थामा सेयरबजारमा बढेको कारोबारले केहि भएपनि राहत दिएको लगानीकर्ताहरु बताउछन् । अहिले आर्थिक क्षेत्रका सबै ढोकाहरु बन्द छन् । जसकारण सबैको एउटै मात्र सम्भावना क्षेत्र भनेको सेयरबजार रहेको छ । देश तथा विदशबाट तथा घरमै बसि मोबाइलबाटै कारोबार गर्न सकिने हुँदा सेयर बजारमा प्रवेश गर्नेको लर्को छ जसकारण कारोबार रकममा पनि ह्वात्तै वृद्धि भएको छ ।

सेयरबजार ३ हजार माथि पुग्नुलाई हामीले सामान्य लिनु पर्ने तर बजार अझै मार्थि जाने र थप नयाँ नयाँ रेकर्ड राख्ने सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याले बताए ।

“बजार अझै माथि जाने धेरै सम्भावना छन्, बैंकिङ सेक्टरहरु बल्ल बढ्दै छन् जसबाट बजार अझै बलियो बन्ने छ,” उनले भने ।

अहिले प्रविधिको सहजता गर्दा विदेशबाट समेत उत्साहजनक सहभागिता रहेको उनकाे भनाइ छ ।  यसरी बजार बढीरहेको अवस्थामा लगानीकर्ताहरुले कम्पनीको सुक्ष्म विष्लेशण गरेर मात्रै लगानी गर्नुपर्ने सुझाव अर्यालकाे छ ।

लामो समयदेखि सुस्त रहेको वाणिज्य बैंक समूहमा विस्तारै लगानीकर्ताको आकर्षण देखिन थालेको हो । सोमबार अधिकांश वाणिज्य बैंकको सेयर भाउ बढेको छ । मूल्य सामान्य हिसाबले मात्र बढेको भए पनि यस समूहका कम्पनीहरुको खरिदबिक्री कित्ता राम्रो छ ।

यतिबेला औसतमा सबैभन्दा सस्तो भाउ वाणिज्य बैंकहरुकै रहेको देखिन्छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये, ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।
होटेल तथा पर्यटन समूह सर्वाधिक ४.२५ प्रतिशतले उकालो लागेको छ ।

लगानी समूह ३.३६ प्रतिशतले बढेको आज बैंकिङ समूह २.७२ प्रतिशत, वित्त समूह ०.९५ प्रतिशत, जीवन बीमा समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.२७ प्रतिशत र निर्जीवन बीमा समूह २.०३ प्रतिशतले बढेका छन् ।

त्यस्तै विकास बैंक समूह १.११ प्रतिशतले घटेको छ । अन्य समूह ०.५४ प्रतिशतले घटेको आज जलविद्युत समूह ०.१८ प्रतिशत, लघुवित्त समूह ०.४८ प्रतिशत, म्युचुअल फन्ड समूह ०.०७ प्रतिशत र व्यापार समूह ०.३४ प्रतिशतले घटेको छ ।

आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी, खानी खोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, र घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै आज न्यादी पावर ग्रुप,ओलियन्टल होटल, सिइडिबी हाइड्रोपावर,तारागाँउ रिजेन्सी होटल, युनियन हाइड्रोपावर र हाइड्रोइलेक्ट्रिसीटी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

कारोबार रकमको आधारमा आज अरुण भ्याली सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको आज ६२ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज माउन्टेन हाइड्रो नेपाल, अरुण भ्याली हाइड्रोपावर, युनाइटेड मोदि हाइड्रोपावर, गुडविल फाइनान्स र ग्रिनलाईफ हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

आइतबार कूल २२१ वटा कम्पनीको ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५ सय १८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !