१६ चैत्र २०८०, शुक्रबार

कृषिको आधुनिकीकरण राष्ट्रिय सम्मेलन सुरु, कृषि क्रान्ति निर्विकल्प रहेकाे कृषि मन्त्रीको भनाइ

प्रकाशित मिति :  18 June, 2021 7:53 pm


काठमाडौं । काठमाडौंमा ‘समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण सम्वन्धी राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । दुई दिने सम्मेलनको शुक्रबार कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले उद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले कृषि क्रान्ति अनिवार्य रहेको चर्चा गर्दै जस्तो सुकै कदम चालेर पनि कृषि क्रान्ति सफल पार्नुपर्ने धारणा राखिन् ।

कृषि विभाग तथा नेपाल कृषि महासंघको संयुक्त आयोजनामा गरेको सो कार्यक्रममा बोल्दै उनले किसानको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

“किसानको सुचिकृत कहिलेसम्म गर्न सक्छौ भन्ने हामीले चिन्तन गर्नुपर्छ, अवसर र चुनौतिसँग संगै अगाडि बढ्नुपर्छ । यसो हुदैगर्दा हामी आत्मनिर्भर हुनेक्रममा पुग्छौं,” उनले भनिन् ।

भूउपयोग नीतिलाई कडाइसाथ लागू गर्नुपर्नेमा जोड दिदै मन्त्री साहले जमिनको खण्डीकरण गर्ने कार्यलाई रोक्नुपर्ने बताइन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण प्रसाद ओलीले अर्वान एग्रिकल्चरलाई प्रोत्साहन गर्नुपर्ने बताए । जल, जमिन, जंगल, जलवायु, जडिबुटी, जनशक्ति, जराजुरी, जनावर संरक्षण गर्दै कृषिको आधुनकिरणमा जानुपर्ने सुझाव दिए ।

मल, बीउ लगायतका समस्या सधै भोग्नुपर्ने समस्याको अन्त्य चाडै गर्नुपर्नेमा उनको जोड थियो । उनले नेपालमा कृषि पढेका विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास बढि भन्दा बढी हुनुपर्ने सुझाव दिए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषितर्फका सचिव डा. योगेन्द्र कुमार कार्कीले सगरमाथादेखि तराइका फाँटसमेतमा कृषि उत्पादन हुने भएकाले रैथाने बालीलाई बचाउँदै कृषिमा आधुनिकरण गर्नुपर्नेमा जोड दिए । विदेशको राम्रो प्रविधि भित्र्याउनु पर्ने सरकारको मान्यता रहेकाले इजयारायलको प्रविधि सातै प्रदेशमा भित्र्याउने कार्यक्रम अगाडि बढाएको बताए ।

सचिव कार्कीले कृषिका मुद्दाहरुमा नीतिगत सुझाव दिन कार्यक्रमले सहयोग गर्ने बताए । कृषि क्षेत्रको महत्वलाई संचारमाध्यमले प्राथमिकतामा दिएर थप बढाएको बताउँदै मिडियालाई पनि कृषिका सरोकारवालाले साथमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

मन्त्रालयका पशुतर्फका निमित्त सचिव डा.विमलकुमार निर्मलले किसानलाई प्राथमिकता दिएर गरिने कार्यक्रमहरु केहि दिन नसकेकोमा आफु दुखित भएको बताए । मन्त्रालयले कृषिमा आधुनिकरण र यान्त्रिकरणमा जोड दिएको चर्चा गर्दै पशुपंक्षीको क्षेत्रमा भ्याक्सिन, ब्रिडिङ, दाना समेत अधिक आयात भएकाले स्वदेशमै व्यवस्था गर्न सकेमा कृषि क्षेत्रले फड्को मार्ने बताए ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेमप्रसाद भूमिको खण्डिकरण र बाझिने क्रम नरोकिएकाले कृषि भूमिको सदुपयोगलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । सरकारी, निजी, पर्ती जमिनलाई उपयोग गर्दै कृषि क्षेत्रको विकास गर्नुपर्नेमा उनको जोड थियो ।

कृषि बन विश्वविश्द्यालयका उपकुलमति प्रा.डा. पुन्यप्रसाद रेग्मीले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए । वातावरणीय प्रभावले पनि कृषिको आधुनिकीकरणका लागि बाधक हुने उनको ठम्याइ छ । कृषकको वर्गीकरण गर्दै उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल कृषि संघका अध्यक्ष गणेश कुमार केसीले कृषिको भविष्यको लागि कृषिका सरोकारवालाहरुको अनुभव र ज्ञानको सदुपयोग गर्नुपर्नेमा जोड दिए । कृषि रोकिन नहुने, चलायमान हुनपर्ने क्षेत्र भएकाले संसारको अस्तित्व कृषिमा निर्भर भएकाले कृषि विकासको कृषिको आधुनिकरणमा जोड दिए । कार्यक्रम सनिबारसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस !