१७ बैशाख २०८१, सोमबार

दुग्ध ढुवानीमा अवरोध भएकोमा आपत्ति, बोर्ड भन्छ,‘समन्वय भइसकेको छ अब समस्या हुँदैन’

प्रकाशित मिति :  23 June, 2021 7:44 pm


काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो गरे पनि दूध तथा दुग्ध पदार्थ ढुवानीमा खुकुलो नभएको भन्दै डेरी क्षेत्रले विरोध गरेका छन् ।

डेरी उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएशन र डेरी उद्योग संघले उपत्यका र आसपासका जिल्लामा दुग्ध ढुवानीमासमेत जोर विजोर प्रणाली लागू हुँदा दूध तथा दुग्ध पदार्थ ढुवानीमा समस्या परेको जनाएका छन् ।

“ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक जोरबोजोरको कारण देखाई सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध भएकोले नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर पर्न गएको छ,” अध्यक्ष राधाकृृष्ण सापकोटा र महासचिव प्रह्लाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दुबै संस्थाले दूध तथा दुग्ध पदार्थ ढुवानीमा जोर विजोर प्रणाली लागू नगर्न माग गरेका छन् । डेरी एसोसिएशनले विज्ञप्ति जारी गर्दै यसअघिको निषेधाज्ञामा तोकिएको समयभित्र बिनारोकतोक आवतजावत गर्न दिइरहेकोमा असार ८ गतेबाट लागू भएको जोर विजोर प्रणालीपछि समस्या बढेको जनाएको छ ।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले पनि विज्ञप्ति जारी गर्दै जोरबिजोर र कार्यालय समयको नाममा सुरक्षा निकायबाट ठाउँठाउँबाट अवरोध भएको भन्दै आपत्ति जनाएका हुन् । दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“सुरक्षा निकायबाट ठाँउ ठाँउमा अवरोध भएबाट नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर पर्न गएको व्यहोरा अवगत गराउदछौँ ।”

दुग्ध क्षेत्रको नियामक निकाय राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र गृह मन्त्रालयमा यस विषयमा समन्वय भइसकेकाले अबका दिनमा अवरोध नहुने बताए ।

“प्रशासनिक रुपमा सूचना प्रवाहमा कमजोरी देखिएको हो, गृह र कृषिले समन्वय गरिसकेको । अब समस्या पर्दैन,” बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले भने ।



प्रतिक्रिया दिनुहोस !