२६ बैशाख २०८१, बुधबार

कडा लकडाउनका कारण कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा खाद्यान्न अभाव बढ्यो

प्रकाशित मिति :  28 June, 2021 10:17 am


काठमाडौं । कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै देशव्यापी रुपमा लगाइएका लकडाउनका कारण कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा खाद्यान्न अभाव बढेको एक अध्ययनले देखाएको छ ।

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले देशका सातै प्रदेशका २३ जिल्लामा गरेको सर्भेअनुसार कर्णाली, सुदूरपश्चिममा सर्वाधिक धेरै खाद्यान्न अभाव देखिएको छ भने त्यसपछि प्रदेश २ मा अभाव देखिएको हो । प्रदेश २ मा तुलनात्मक रुपमा कडा लकडाउनका कारण खाद्य वस्तुको अभाव देखिएको अध्ययनमा उल्लेख छ ।

अध्ययनमा गत वर्षको कोभिड-१९ को पहिलो लहरका तुलनामा यो वर्षको दोस्रो लहरमा खाद्य सुरक्षाको अवस्थामा सुधार भए पनि बजारमा श्रमको मागमा कमी आएको उल्लेख छ । यसले लकडाउनका कारण रोजगारीको उपलब्धतामा असर परेको इंगित गर्छ ।

सर्वेमा सहभागीमध्ये ५७ प्रतिशत व्यापारीले श्रमको मागमा ठूलो कमी आएको बताए । सुदूरपश्चिम, प्रदेश १ र २, कर्णाली र गण्डकीका आधाभन्दा बढी व्यापारीले श्रमको मागमा कमी आएको बताए भने बागमती र लुम्बिनीका व्यापारीले श्रमको माग मध्यम रहेको बताएका छन् ।

गत मे महिनामा गरिएको सर्वेअनुसार लकडाउनका कारण, कर्णाली सुदूरपश्चिम, लुम्बिनी र प्रदेश २ का दुई तिहाइ व्यापारीहरूले वस्तुको आपूर्ति न्यून भएको बताए भने गण्डकीका आधा व्यापारीले वस्तु आपूर्तिमा निकै असर परेको बताए ।

 



प्रतिक्रिया दिनुहोस !