१२ श्रावण २०८१, शनिबार

चोरी गरेर अमेरिका पुर्‍याइएका टुँडाल र मूर्ति नेपाल ल्याइयो

प्रकाशित मिति :  15 July, 2021 6:08 pm


काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका एउटा टुँडाल र दुई  मूर्ति नेपाल ल्याइएको छ ।

अमेरिकामा अवैध स्वामित्व, प्रदर्शनी तथा बिक्रीमा रहेका टुँडाल र दुई मूर्तिलाई न्यूयोर्कको डिस्ट्रिक एटोर्नी अफिसले जफत गरी नेपाललाई फिर्ता गरिदिएको हो ।
अप्सराको रंगिन आकृतिमा कुँदिएको काठको टुँडाल, भूमिस्पर्श मुद्रामा बसेका बुद्धको सुनौलो मूर्ति गणेशको मूर्ति नेपाल ल्याइएको हो । अपसराको टुँडाल १३ औं शताब्दी, बुद्धको १४ औं १५ औं र गणेशको १५ औं १६ औं मा कुँदिएको हो ।

अमेरिकाको न्यूयोर्क स्थित डिस्ट्रिक एटोर्नी अफिसले जफत गरेर नेपाल सरकारका कार्यवाहक महावाणिज्यदूत र अमेरिकाको डिस्ट्रिक एटोर्नी अफिस न्यूयोर्कबीच २०७७ / १२ / १९ मा समझदारी पत्रमा हस्ताक्षर गरेर अमेरिकामा रहेको नेपाली महावाणिज्यदूतावासलाई हस्तान्तरण गरिएको थियो ।

अमेरिकामा बिक्रीको लागि अप्सराको २५ हजार अमेरिकी डलर, बुद्धको ५० हजार डलर र गणेशको ५० हजार डलरमा बिक्रीमा राखेको अवस्थामा जफत गरेर नेपाल ल्याइएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए ।

नेपाल सरकारले यी तीनवटा मूर्ति फिर्ता ल्याउनको लागि बीमा रकम सहित तीन हजार एकसय अमेरिकी डल खर्च गरेको छ ।

यी मूर्ति तथा कलावस्तु तस्करीमा दक्षिण भारतका एक व्यक्ति पक्राउ परेका थिए । उनको पहिचान भने नखुलाइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

नेपालबाट सन् १९५० अघि के कति सांस्कृतिक सम्पदाहरु बाहिरिए त्यसको अभिलेख नेपाल सरकारसँग छैन । तर विश्वका विभिन्न संग्रहालयहरुमा हेर्ने हो भने नेपालबाट चोरी गरिएका हजारौं कलाकृति देखिने गरेको महानिर्देशक गौतमको भनाई छ । नेपाली विशिष्ट किसिमका कलाकृतिहरू नेपालबाट हजारौंका संख्यामा कलाकृतिहरु बाहिरिएको हुनसक्ने पुरातत्व विभागका महानिर्देशक गौतमको भनाई छ ।

नेपालमा सन् १९५० पछि मात्र आफ्नो परिवेश वरिपरि भएका सांस्कृतिक सम्पदाहरुको रेखदेख र संरक्षण गर्न थालेको उनले बताए ।

नेपालबाट सत्तरी, असी र नब्बेको दशकमा धेरै संख्यामा सांस्कृतिक सम्पदाहरुको चोरी भएको देखिन्छ । सन् २००० देखि सांस्कृतिक सम्पदाहरुको चोरी र निकासी कम हुँदै गएको छ । यस अवधिमा चोरी भएका महत्वपूर्ण सम्पदाहरू पनि सुरक्षा निकायहरुद्वारा वरामद गरी पुरातत्व विभागमा पठाएको महानिर्देशक गौतमको भनाई छ ।

हालसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट १ थान, अमेरिकाबाट १४ थान, जर्मनीबाट १ थान समेत गरी जम्मा ६३ थान मूर्तिहरू तथा कलावस्तुहरू विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाहरुको प्रयासबाट फिर्ता भएको सरकारको तथ्याङ्क छ । अमेरिका, फ्रान्स, बेलायत जस्ता देशहरुबाट थप अरु केही कलावस्तुहरु फिर्ताको लागि कुटनीतिक पहल भईरहेको महानिर्देशक गौतमले जनाए ।

 



प्रतिक्रिया दिनुहोस !