१२ श्रावण २०८१, शनिबार
टिप्पणी

अनि शेरबहादुर देउवा बलिया बने

प्रकाशित मिति :  19 July, 2021 3:13 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धेरै बोल्न नचाहने नेताहरूमा पर्छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओली धेरै बोल्ने वाचाल नेताका रूपमा गनिन्छन् ।

बोल्न हुने बोल्न नहुने सबै कुरो बोलेर भएपनि ओलीले आफू बसेको प्रधानमन्त्रीको कुर्चीमाथिको नियन्त्रण जोगाइ राख्न असफल भए । ‘नाइँ म बन्दिन ! बन्दिन !’ भन्दाभन्दै देउवाले प्रधानमन्त्रीको कुर्ची अनन्दले बस्न पाउने कुशलता प्रस्तुत गरेक छन् ।

आइतबार बसेको प्रतिनिधि सभामा देउवाले तत्काल कायम रहेको संसद सदस्यहरूको संख्या २४९ जनामा १६५ जनाको विश्वासको मत पाएर अब बाँकी अवधिका लागि प्रधानमन्त्री पदमा बस्ने स्थायित्व देउवाले प्राप्त गरेका हुन् । देउवालाई सरकार चलाउन चाहिने आवश्यक गणपूरक संख्या भन्दा धेरै स्पष्ट मत पाए ।

ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन भएसम्म पनि देउवाले अन्तिमसम्म पनि प्रधानमन्त्री बन्ने चासो बाहिरि रुपमा कम प्रकट गरे । तर राजनीतिको लामो अनुभव लिइसकेका र विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय शक्ति केन्द्रहरूसँगको सम्पर्कबाट अनुकूल अवस्था र समर्थन नआएको अनुभव देउवालाई थियो त्यसैलपनि देउवाले सार्वजनिक रुपमा प्रधानमन्त्रीमा कमै चासो देखाएको पाइन्थ्यो ।

पहिलो पटक प्रतिनिधि सभा ब्युँतिएपछि कुनै पनि दलले सरकार बनाउन पहल गरेनन् । त्यतिखेर ७६(२) बमोजिम सरकार बन्नु पर्ने अवस्था थियो । जनता समाजवादी पार्टीले देउवालाई समर्थन नगर्ने अवस्था ओलीले सिर्जना गरेका थिए ।

ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्ने योजना चालेको र सर्वोच्चले ओलीले बनाएको महाधिवेशन आयोजक समितिलाई मान्यता नदिएपछि बनेको अवस्थामा राजनीतिक बाटोहरू अवलम्बन गर्न एमाले नेता माधवकुमार नेपालका लागि सहज अनुकूलता प्राप्त भयो ।

सर्वोच्चको सो फैसलाले माधव नेपालले २०७५ जेठ २ अघिको अवस्थामा एमाले पार्टी पुर्‍याउनुपर्ने गरेका मागलाई समर्थन गर्न पुग्यो ।

दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्न बनाएको योजना अन्तर्गत ७६(२) बमोजिम सरकार बनाउन दाबी नगरेपछि ओलीले (३)बमोजिम सबै भन्दा ठूलो दलको नेताले अल्पमतको सरकारको प्रावधान अनुसार शपथ खाए । तर आफ्ना दलका नेताहरूले पनि मतदान गर्न नसक्ने र मतदान नगर्नेलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरे । त्यसपछि माओवादी—कांग्रेस मात्रैलाई पनि सरकार बनाउन सहज हुने गरी अवसर नदिन चाहेकाले ओलीले बिचमा फड्को मार्ने योजना बनाए ।

उनले आफूले विश्वासको मत लिन नसक्ने र सरकार बनाउने बाटो खुला गरेको भनी बालुवाटारमा पत्रकार सम्मेलनमा जनाएर जनतालाई ढाँटे ।

आफूले नयाँ सरकारको लागि बाटो खोलेको भने लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलको नेताको रूपमा राजेन्द्र महतोको तर्फबाट हस्ताक्षर सहितको समर्थन पत्र लिएर शीतल निवास राष्ट्रपति विद्याभण्डारी समक्ष ७६(५)को प्रधानमन्त्रीको रूपमा आफूलाई प्रस्तुत गर्न पुगे ।

देउवालाई माओवादी केन्द्रका नेता प्रचण्ड, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको रूपमा उपयुक्त व्यक्ति देखे । चार पटक प्रधानमन्त्री भइसकेको र नेपाली कांग्रेसका सभापतिमा देउवालाई दिनुको पछाडि अन्तर्राष्ट्रिय भूराजनीतिक अवस्थामा बदलिँदै गएको अवस्थाले देउवामा बढेको वजन पनि प्रमुख कारण रहेको कतिपय पूर्व कूटनीतिज्ञहरूको भनाइ छ ।

कूटनीतिज्ञहरूकामाझ देउवालाई अमेरिका भारत पक्षीय रुझान भएको रूपमा लिने गरिन्छ । कोही नेता भारत अमेरिका पक्षीय रुझान भएजस्तै देउवा अमेरिका भारत पक्षीय नेताको रूपमा चिनिएका छन् । राजनीतिक दलमा कोही भारत पक्षीय, चीन पक्षीय, भारत चीन पक्षीय, चीन भारत पक्षीय, अमेरिका चीन पक्षीय, जस्ता व्यक्तिहरू राजनीतिक दलमा रहेको ती पूर्व कुटनीतिज्ञको भनाइ रहेको छ ।

आफ्नो नाम नखुलाउने ती कुटनीतिज्ञ भन्छन् “ अहिले दक्षिण एसियामा भूराजनीतिक उथलपुथल द्रुतगतिमा परिर्वतन भइरहेको छ ।अफगानिस्तानको शान्ति प्रक्रियाले यस क्षेत्रको सुरक्षा व्यवस्थामा समस्या उत्पन्न गराएको छ । काठमाडौंबाट विमान अपहरण गरी कान्दाहारसम्म पुर्‍याइएको विगतको घटनाले नेपालको भूमिका क्षेत्रीय सुरक्षामा कस्तो महत्वपूर्ण छ त्यसले पनि दर्शाउँछ ।”

भारत दक्षिण एसियाली त्यो देश हो जसले अमेरिकी नेतृत्वको इन्डो प्यासिफिक रणनीतिमा चार देशकाको समूह क्वाडमा सहभागिता जनाएको छ । क्वाडमा भारत, अमेरिका ,अस्ट्रेलिया र जापान रहेका छन् ।

नेपालको अन्तर्राष्ट्रि सम्बन्ध भएका देशहरूमा यी चारको वजन बलियो हुन्छ । नेपाली कांग्रेसको सम्बन्ध चीनसँग जननिर्वाचित प्रथम प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको सरकारका बेला देखि रहिआएको छ ।

देउवा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिका भारत पक्षीय रुझान राख्ने र नेपाली कांग्रेसको सभापतिका नाताले चीनसँगको पुरानो सम्बन्धले ओली विपक्षी गठबन्धनका अन्य दलका नेताहरू मध्ये मात्रै होइन नेपाली कांग्रेसमा अर्को विकल्प नभएको ती कूटनीतिज्ञको भनाइ छ ।

ओलीको पदस्थापन गराउन भारतीय पक्षको भरमग्दुर प्रयास हुँदाहुँदै पनि नजोगिएबाट भारतको विद्यमान संस्थापन सन्तुष्ट हुन नसकेकाले परम्परागतरूपमा भारतबाट हुने गरेको न्यानो बधाई आउन ढिलाइ भएको देखियो ।

गत मंगलबार प्रधानमन्त्रीमा राष्ट्रपतिमा नियुक्त भएपनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सदनबाट देउवाले मत प्राप्त नहुने अपेक्षा गरिरहेका थिए । तर सदनमा विश्वास मतको पक्षमा गरिएको प्रस्तावमा मतदान हुन देउवाले अंगे्रजीमा भने “अन्तर्राष्ट्रिय सम्बन्धहरूमा कोही स्थायी शत्रु वा स्थायी मित्र हुँदैन स्थायी मात्र स्वार्थ हुन्छन् (देअर इज नो पर्मानेन्ट फो अर फ्रेन्ड इन इन्टरनेसनल रिलेसन्स, देअर इज वनली पर्मानेन्ट इन्ट्रेस्ट) ।”

देउवाले सदनमा यो भनेको एक घन्टा नपुग्दै मोदीले ट्वीटरमा बधाई दिएका थिए । यसले पनि नेताहरूले देउवालाई रोज्नुको सही रहेको देखिन्छ ।

चीन पक्षीय, भारतीय पक्षीय, भारत अमेरिका पक्षीय, चीन अमेरिका पक्षीय नेताको प्रभाव भन्दा अमेरिका भारत पक्षीय नेता हुनु ती नेताहरूको राजनीतिक जोगाउने स्वार्थ रहेको देखिन्छ ।

देउवाले आन्तरिक राजनीतिमा पनि स्वार्थ मात्र स्थायी हुनछ स्थायी शत्रु र मित्र कोही हुँदैन भने विषयको चरितार्थ आफै प्रधानमन्त्री बनेर देखाएका छन् । नभए आफू प्रधानमन्त्री भएका बेला गणतन्त्रको माग राखेर सशस्त्र युद्धको घोषणा गर्ने प्रमुख नेताहरूको सहयोगमा प्रधानमन्त्री बन्ने विश्वास गर्थे र ? गर्दैनथे ।

देउवाको सो टिप्पणी राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धहरूका सन्दर्भमा सत्य साबित भएका छन् । आउँदा दिनमा नेपालीहरूका स्थायी स्वार्थहरूको रक्षा हुनुपर्ने चाहना आम नेपालीको रहेको छ । देउवाले आफूमाथिको आंशकालाई विश्वासमा कतिको रूपान्तरण गर्न सक्छन् त्यो भने हेर्न बाँकी छ । तर उनकालागि अवसर उनकै दैलामा    छ ।



प्रतिक्रिया दिनुहोस !