७ बैशाख २०८१, शुक्रबार

आज साउन १५ अर्थात खिर खाने दिन, पहिलो पटक खिर दिवस मनाइदै

प्रकाशित मिति :  30 July, 2021 8:11 am


काठमाडौं । आज साउन १५ । आजको दिन खिर खाएर मनाउने प्रचलन छ ।

असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरूले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने चलन छ ।

वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खानुपर्ने मान्यता छ । खिर एक स्वस्थ्यकर पौष्टिक खाद्य पदार्थ भएकोले यसबाट मानव शरिरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टीक तत्वहरू पनि प्राप्त हुने हुनाले खिर उपयोगि भएको मानिन्छ ।

हाल खिर विश्वका प्रायजसो मुलुकहरूमा प्रयोगमा ल्याइने गरेको र यसलाई विभिन्न नामबाट प्रयोग गर्ने गरेको पाईन्छ । खासगरी मध्यपूर्व एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया,सार्क क्षेत्रमा वढी मात्रामा खीरको प्रयोग हुने गरेको पाईन्छ त्यसै गरी यूरोप र अमेरीकामा समेत खिरलाई एक विशिष्ट खानाको रुपमा प्रयोग गरेको पाईन्छ ।

विशेषत छिमेकी मुलुक भारतको गुजरातमा यसलाई दूधपाकको नामबाट चिनिन्छ भने वंगालीमा यसलाई पायसको नाम बाट प्रयोग गरिन्छ । त्यसै गरी श्रीलंकामा यसलाई क्रीवाथको नाम बाट प्रयोग गर्ने गरेको पाईन्छ ।

पहिलो पटक औपचारिक रुपमा खिर दिवस मनाइदै

दुग्ध क्षेत्रको नियामक निकाय राष्ट्रिय दुग्ध विकास बोर्डले पहिलो पटक औपचारिक रुपमा खिर दिवस मनाउने निर्णय गरेको छ । बोर्डको १११ औं कार्यकारी समितिको बैठकले साउन १५ गतेलाई खिर खाने दिनको रुपमा अर्थात खिर दिवस मनाउने निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले जानकारी दिए ।

उनले भने,“बोर्डले विगत देखिनै वोर्डको परिवारमा रहेर श्रावण १५ गतेको दिन खीर खाने प्रचलन थियो यस पटकदेखि हामीले खिर खाने दिनको रुपमा (खिर दिवस) मनाउने निर्णय गरेका छौं ।”

बोर्डले आज पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लि, नेपाल डेरी एशोशिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लि. तथा नेपाल डेरी साईन्स एशोशिएसनहरूलाई संलग्न गराई साउन १५ गते २०७८ खिर दिवसको औपचारिक सुरुवात गर्दैछ ।

यसले दूध तथा दुग्ध जन्य पदार्थको महत्वको बारेमा प्रचार प्रसार भई उपभोगमा अभिवृद्धि हुने विश्वास लिइएको कार्यकारी निर्देशक यादवको भनाई छ ।

खिरमा कति शक्ति ?

साधारणतया १०० ग्राम खिरमा ९२ क्यालोरी शक्ति प्रदान हुन्छ साथै प्रति १०० ग्राम खिरमा निम्न अनुसारको बनावट रहेको पाईन्छ । पानी ८८.९ ग्राम, कावोहाईड्रेड १६.४ ग्राम, प्रोटीन ३.३ ग्राम, फ्याट् १.३ ग्राम, फाईवर ०.१ ग्राम रहेको हुन्छ ।

एक जना व्यक्तिलाई प्रतिदिन २१०८ क्यालोरी शक्तिको आवश्यक पर्दछ । प्रतिदिन १०० ग्राम खिरको उपयोग गरिए ९२ क्यालेरी शक्ति प्रदान हुने कार्यकारी निर्देशक यादवको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !