२० बैशाख २०८१, बिहिबार

देउवा सरकारमा सामेल हुने चाहनाले मात्रै नेपालले पार्टी फुटाएको एमालेकाे आरोप

प्रकाशित मिति :  24 August, 2021 6:58 pm


काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्ना केही मान्छेलाई मन्त्री बनाउन र आफू अध्यक्ष हुन चाहना भएकाले एमाले नेता माधवकुमार नेपालले पार्टी फुटाएको आरोप पार्टीका प्रवक्ता प्रदिप नेपालले लगाएका छन् ।अन्य साथीहरूलाई १० बुँदेका आधारमा एकता गर्न हुने नेता नेपाललाई किन नहुने ? भन्ने प्रतिप्रश्न तेर्स्याउँदै ज्ञवालीले यस्तो बताएका हुन् ।

विगतमा नेपाल पक्षको तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट छनौट गरिएका व्यक्तिहरू बीच भएको १० बुँदे सम्झौता कार्यान्वयन गर्न सहमति जनाएपछि सम्पन्न स्थायी समितिको बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता ज्ञावालीले यस्तो आरोप लगाएका हुन् ।

पार्टीको बैठकमा मुख्य तीन सूचीमा केन्द्रित भइ निर्णय सार्वजनिक गरिएको उनले जनाए । १० बुँदे प्रस्ताव कार्यान्वयन गराउने विषय अन्तर्गत ८ वटा निर्णय गरिएका छन् । यो बैठक एकताको रूपमा सम्पन्न भएको उनले जनाए ।

पहिलो निर्णय पार्टीको पक्षमा रहेर केन्द्रीय कमिटी , केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटीका जनसंगठनका सबै तहका पदाधिकारीहरूलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने १० बुँदे सहमतिलाई सन्दर्भ सामग्रीका रूपमा मातहतका कमिटीमा प्रेषित गर्ने ।

दोस्रो १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्याहरू समाधान गर्न केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन गर्ने पनि सुझाउ दिएको छ । ती सदस्यहरू मनोनयन गर्न , विभागहरूलाई पूर्णता दिन र आवश्यकता अनुरूप पुनर्गठन गर्ने गृहकार्य गर्न एउटा कार्यदल बनाइएको छ । कार्यदलमा ईश्वर पोख्रेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल , सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन् ।

सदस्यता नवीकरणलाई पनि २०७५ जेठ २ गतेको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आबद्ध भएका र २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरुको सदस्यता समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने बैठकले निर्णय गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !