५ जेष्ठ २०८१, शनिबार

ग्लोबल आइएमई बैंकद्वारा सप्तकोशी क्याम्पसलाई पाँच लाख सहयोग

प्रकाशित मिति :  11 February, 2020 9:59 pm


काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी रु ५ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड ईटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई रु पाँच लाखको चेक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अध्यापन गराउने गरेको र ग्लोबल आइएमई बैंक लिमिटेडले क्याम्पस भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गरे ।

बराहक्षेत्र नगरपालिकाका मेयर खनालले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले ग्लोबल आइएमई बैंक, क्याम्पसलाई भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने निजी क्षेत्रको प्रथम संस्था भएको समेत जानकारी दिए ।

कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, क्याम्पस ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो । बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !